Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

न्यायालयप्रतिको आशंका अलि बढी भयो कि महोदय !

न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो । 

 

इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार्की हटे । सर्वोच्चमा बुधबार बसेको संवैधानिक इजलासमा सपना मल्ल प्रधानलाई ल्याइयो । उनको विषय समेत सम्मानित इजलासले निर्क्याैल गर्ला । 

यहाँ कानून अनुसारको व्याख्या र अपव्याख्या सबै–सबै जायज छन् । 

 

देश लोकतान्त्रिक गणतन्त्र हो । यहाँ बोल्न–लेख्न छुट छ । नागरिक खबरदारी नैसर्गिक अधिकार नै भयो । 

 

तर, मान्यवर ! लगातार सम्मानित अदालतप्रतिको आशंका त अलि बढी भएन र । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध आफ्नै दलले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराउने संकेतसँगै संसद् विघटनको सिफारिस गरे । मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिन् । सूचना राजपत्रमा छापियो । 

 

संसद् विघटनसँगै निर्वाचनको मिति तोकिएको छ । त्यसको तयारी समेत सर्वसाधारणले अनुभूति गर्ने गरी भइरहेको पनि छ । 
सरकारको संसद् विघटनको निर्णयविरुद्ध नागरिकका हैसियतमा दर्जन बढी रिट निवेदन अदालतमा आए । अदालतले एउटा पनि दरपिठ गरेन । सबै दर्ता भए । 

 

अब, यो समस्या संवैधानिक संकटको हो वा अन्य, त्यसको निर्क्याैल र निर्णय अधिकार न्यायालयमा छ । 

 

संवैधानिक इजलासभन्दा बृहत् इजलास ठीक होला वा नहोला, त्यसको निर्णय पनि इजलासले नै गर्ने हो । 

 

त्यहाँ बहस हुन्छ । छलफल हुन्छ । संविधान, कानून र नजिर हेरिन्छ । कुनै एक न्यायाधीशको बलले कुनै पूर्वनिर्धारित निर्णयमा न्यायालय पुग्छ भन्ने पूर्वअनुमान र पुग्नुपर्छ भन्ने दवाब त अलि जायज भएन कि महोदय । 

 

न्यायालय शक्ति पृथकीकरणको सिद्धान्तअनुसार स्वतन्त्र छ । त्यो स्वतन्त्रता र निष्पक्षताको रखवाला स्वयम् इजलास हो । यसरी मुद्दा बहसमा पुग्नुअघि एकपछि अर्को आशंका र लान्छना लगाएर सम्मानित अदालतको मानमर्दन, सम्मानित न्यायमूर्तिहरुको मानमर्दन त अलि बढी भयो कि महोदय । 

 

सर्वोच्च अदालतको नेतृत्वदेखि सबै न्यायाधीश नागरिकले चुनेका यिनै माननीय संसदहरुको सुनवाइ पास गरेर आएका हुन् । उनीहरुलाई सरकारले सिफारिस गरेको हो, नियुक्ति प्रक्रियामा उजुुरबाजुरको अवसर संविधानले आम नागरिकलाई दिएको थियो । 

 

त्यो चरण पनि पूरा भएको हो । 

 

अब, बहसमा जाऊँ । इजलास चल्न दिऊँ । बहस गरौं । छलफल गरौं । संविधानका पत्र–पत्र केलाऊँ । नजिरहरु मात्र होइन, विश्व परिवेशमा भएका यस्ता घटनाक्रम समेतको अध्ययन स्वतन्त्रता राखौं । 

 

देश, काल र परिस्थिति गमौं । 

 

तर, महोदय । इजलासभित्र दलीय आवरण ओढेर सडकको बोली नबोलौं । यसप्रतिको जनविश्वासको रक्षा गरौं । यसको महिमा जोगाऔं । 

 

व्यक्ति विशेष नै न्यायालय भएझैं उसैलाई सर्वोपरि नठानौं । यसले भोलि हामीलाई नै घात गर्नेछ । भोलि पनि दिन हुन्छ । रात हुनेछ । यस्ता घटनाक्रम हुनेछन् । 

 

आउनुहोस् महोदय, स्वतन्त्र न्यायपालिकाको आस्थाको धरोहर मजबुत बनाउँदै इजलासमै बहस गरौं । 

यही माैकामा ठाेकाैं ताली ।
 

 

(ठोकोताली समाचार, बिचार, बिश्लेषण र ब्यङग्यको रोचक तथा घोचक प्रस्तुती हो । यसमा प्रस्तुत बिषय कुनै ब्यक्ति विशेष नभई समग्र प्रवृत्तीप्रति लक्षित हो ।) 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

छोरीको प्रयोग गरेर घूस लिने सहायक रजिष्ट्रारलाई चार महिना जेल, एकलाख जरिवाना 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोष...

माघ १, २०७७