
सुन तस्करीको बिस्तृत अनुसन्धानमा नाम चलेका प्रहरी अधिकारी समेत पछि हटन थालेका छन् । काठमाडौमा केहीदिन अघि भएको एउटा घटनाले त्यसको पुष्टि गरेको हो ।
सुन अनुसन्धान विवादमा आउने र यसअघि सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणले त्राहीमाम भएका प्रहरी अधिकारी राम्रो गर्दागर्दै पनि फसिने हो कि भन्ने डरमा अनुसन्धान गर्नुभन्दा पन्छिन थालेको अनुमान गर्न सकिन्छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पनि सोमबार बरामद गरेको एककरोड ४७ लाख ८६ हजार रुपैयाँको तार सुनसँग जोडिएको ‘क्लू’ पाएपनि अनुसन्धान गर्नुभन्दा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा इमान्दारीसाथ बुझाएको खुलेको छ ।
महानगरीय प्रहरी परिसरले बहादुरीका साथ पत्रकार सम्मेलन गरेर थानकोट वृत्तले बरामद गरेको एककरोड ४७ लाख ८६ हजार रुपैयाँ र पक्राउ ब्यक्ति सार्वजनिक गर्यो ।
प्रहरीले रकमको स्रोत नखुलेको रकम र पक्राउ परेका आरोपीहरुलाई सोही दिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगायो । परिसरले २० पुसको अपरान्ह १ बजे पत्रकार सम्मेलन गरेको थियो । स्रोत नखुलेको रकम सहित महानगरीय प्रहरी वृत्तले सोही दिन बिहान करिब पाँचबजे पक्राउ गरेको थियो ।
प्रहरीले यति ठुलो रकम सहित पक्राउ गरेका भारतीय नागरिक अमितकुमार गुप्ता र सवारीचालक कपिलवस्तुको बाँडगंगा नगरपालिका–४ बस्ने संगम थारुलाई करिब सात घण्टा नियन्त्रणमा लिएको थियो ।
परिसर विश्वस्त स्रोतका अनुसार यसबिच उनीहरु कपिलवस्तुको कृष्णनगर नाका भएर प्रवेश गरेको मात्र खुलेन पक्राउ परेका अमितको मोबाइलमा सुनको तस्वीर समेत भेटिएको थियो ।
अनुसन्धान अधिकारीहरुका लागि यति ‘क्लू’ अनुसन्धानका लागि प्रयाप्त थियो ।
अमितकुमार गुप्ता दुई किलो सुन लिन पैसा बोकेर आएका थिए । उनले काठमाडौंमा भेटने सुनका बिक्रेता वा बिचौलियाको सम्पर्क केलाउन पनि प्रहरीका लागि अप्ठेरो थिएन । विगतमा प्रहरीले गरेका अनुसन्धानले यही देखाउछ ।
यस्तै उनलाई थप अनुसन्धानका लागि केहीदिन माथिल्लो निकायसँगको समन्वयमा अभद्र व्यवहार मुद्दामा रोकेर राख्न सकिने थियो । यसअघि प्रहरीले यस्ता अनुसन्धानमा त्यही विधि अपनाएर पछि मुद्दा संगठित अपराधमा लिएर गएका उदाहरण परिसरमै छन् ।
तर, काठमाडौं प्रहरीले त्यो बाटो समातेन । पक्राउ परेका दुबैलाई विभागको जिम्मा लगायो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले विभाग र प्रहरीबिचको पूर्ववत सम्झौता अनुसार यस्ता घटनाको थप अनुसन्धानका लागि विभागमा बुझाउने गरेको बताए । उनले विभागको अनुसन्धानमा परिसरसहित देशभरका प्रहरी इकाईबाट सहयोग भइरहेको समेत जानकारी दिए ।
एसएसपी अशोक सिंहले पर्दाफाससँग भने, ‘हामीले पक्राउ परेका ब्यक्तिका बिषयमा समकक्षि भारतीय प्रहरीसँग बुझ्ने काम गरिरहेका छौं, यसको अनुसन्धान विभागबाट भइरहेको छ, हामी सहयोगी भुमिकामा रहने छौं ।’
विभागको बयानमा अमितकुमारले काठमाडौंमा रकम बुझ्ने ब्यक्ति र कृष्णनगरबाट रकम पठाउने दुबैको नाम र ठेगाना खोले ।
विभागले यो तीनदिनमा काठमाडौंमा रकम बुझ्ने ( रिसिभर) मुस्लिम ब्यक्ति र कृष्णनगरबाट सुन खरिदका लागि रकम पठाउने (सेण्डर) स्थानिय ब्यापारी दुबैलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेकाले दुबैको नाम गोप्य राखिएको छ ।
विभाग उच्च स्रोतका अनुसार कपिलवस्तुको कृष्णनगरबाट पक्राउ परेका ब्यक्तिका साथबाट थप पचास लाख रुपैयाँ र सुनचाँदीका गरगहना समेत बरामद भएको छ ।
विभाग स्रोत भन्छ, ‘सुन तस्करी जारी रहेछ, रिसिभर र सेण्डर पक्राउ परे अब मेन भेण्डरको खोजीमा छौं ।’
अमितकुमार चालक संगमसँगै कपिलवस्तुबाट प्रदेश ३–०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारमा काठमाडौं आउँदै गरेका थिए । उनलाई काठमाडौं चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाईन्टमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीसँगको बयानमा उनले आफ्नो घर भारत गोरखपुर घण्टाघर बताएका थिए । उनीसँग कार चालक कपिलवस्तुको बाँडगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । विभागको प्रारम्भीक अनुसन्धानमा अमितकुमार सुन र पैसाका ‘करियर’ हुन् ।
अमितकुमारले कारको डिक्किमा स्पेयर टायरमुनि तथा विभिन्न भागमा रकम लुकाएका थिए । रकम लुकाउन उनले ३ वटा झोला प्रयोग गरेका थिए ।
नागढुंगा चेकप्वाईन्टबाट यसअघि पनि २१ कात्तिकमा ४० लाख रुपैयाँसहित पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का ब्यास गुप्तालाई पक्राउ गरिएको थियो । उनलाई समेत विभागमा बुझाइएको थियो ।
थप
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit