
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताएका हुन् ।
दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप समेत लगाए ।
‘आगामी आम निर्वाचनमा जसपा र नेकपा (एमाले) लाई विभाजनमा लानको निम्ति आफू प्रधानमन्त्री हुने शर्तमा नै यी पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत कुरा हो,’ उनले भने ।
‘दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन,’ मन्त्री ढकालले भने ।
मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए ।
‘धारा ७६(५)को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणाली भित्र निर्दलीय आचरण र आकांक्षा अनुरुपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ । त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो,’ उनले भने ।
मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने उनको भनाइ छ ।
संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit