Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

चोला फेरिएका ‘बादल’


१४ फागुन २०७४ मा गृहमन्त्रीको सपथ खाएका बादल कालो कोट, सेतो सर्ट र कालै पाइन्टमा थिए । उनीसँगै सपथ खाने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा औपचारिक पोशाकमा थिए । बादल र मातृका यादव भने अनौपचारिक पोशाकमा सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगे । 

 

त्यसबेला बादलका लागि मन्त्री पद नयाँ थिएन । तर पनि उनको हाउभाउ नयाँ जस्तै थियो । यसअघि रक्षामन्त्री बनेका बादल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सेनापति फ्याँक्ने दाउपेचको शिकार बनेका थिए । तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाल हटाउने प्रचण्ड चाहना त्यसबेलाको सरकारका लागि महँगो साबित भएको थियो । एक प्रकारले मन्त्री पदको ‘रस’ नचाख्दै बादल पनि बाहिरिएका थिए । 

 

तर, आइतबार मन्त्री बनेको ११४६ दिनपछि उनै बादलको रवैयामात्र होइन, ‘जेस्चर र पोस्चर’ समेत फरक थियो । दौरासुरुवालमा ठाँटिएर शीतल निवास पुगेका उनी जनयुद्धका ती कमाण्डर बादल होइन, सत्ता, शक्ति र संसदीय अभ्यासका पोख्त पात्र देखिन्थे । 

 

पद खोसिएको तीन घण्टा पनि बित्न नपाउँदै उनी पुुनः सोही पदमा नियुक्त भएका थिए ।  

 

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।
यसअघिका सपथहरुमा सुटपेन्टमा उपस्थित हुने उनले पहिलोपल्ट दौरा सुरुवाल लगाएर सपथ लिएपछि त्यो चर्चाको विषय बन्यो ।

 

तत्कालीन नेकपाबाट माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै गृहमन्त्री बनेका थापाको यसबीच लुगामात्रै होइन, चोला नै परिवर्तन भएको छ । 

 

त्यसबेला माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै टाइसुटमा सपथ खाएका थिए । अहिले पार्टी नै परिवर्तन गरी नेकपा एमालेबाट गृहमन्त्री पदको सपथ खाएका हुन् । सर्वोच्च अदालतले गत फागुनमा नेकपाको एकता भंग गर्दै माओवादी र एमालेलाई ब्युँत्याए पनि बादलले भने माओवादी नफर्कने निर्णय गरेका थिए । 

 

 

बादल नफर्कने भएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको पत्र संसद सचिवालयमा आइतबार नै बुझाएको थियो । उक्त सूचनालगत्तै थापाको सांसद पदसमेत गुमेको थियो । सांसद पदसँगै मन्त्रीबाट पनि मुक्त हुने संवैधानिक व्यवस्था छ ।

 

सोहीकारण आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा बादललाई पुनः नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपरेको हो । लगत्तै राष्ट्रपतिबाट बादलले पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।

 

यसबीच गृहमन्त्री हुँदा थापाले गर्न खोजेका केही काम पनि चर्चामा रहे । जस्तो कि उनले ठेकेदारहरुलाई ठेगान लगाउन खोजे । 

 

ठेक्का लिएर समयमा नै काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवासायीहरुको उनले नामावली नै सार्वजनिक गरेका थिए । काठमाडौंमा ठेकेदार पक्राउ गर्न उनले काटेको पत्र महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेको थियो । सार्वजनिक कार्यक्रममै उनी काम नगर्ने ठेकदारहरु आफ्नै मान्छे परे पनि नछाडिने दाबी गर्दै हिँड्थे ।  

 

यस्तै यातायातमा भएको सिन्डिकेट हटाउन पनि उनले प्रयास गरे । सरकारले गत असार मसान्तबाट यातायात संघ, समितिहरुको नवीकरण र नयाँ दर्ता प्रक्रिया रोकेर कम्पनी ऐनअनुसार दर्ता गर्न निर्देशिका जारी गरेसँगै कागजी रुपमा सिन्डिकेटको अन्त्य भएको थियो ।

 

थापा गृहमन्त्री भएकै बेला सरकारले नेपालमा इन्टनेटबाट यौनजन्य सामग्रीको आदान–प्रदान र प्रकासन प्रसारण गर्न रोक लगाएको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ लाई टेकेर उक्त नियम लागू गरिएको थियो । जसले यौनजन्य अश्लील सामग्रीको आदान–प्रदान, प्रकासन र प्रसारणलाई बन्देज लगाएको छ । 

 

यस्तै मदिरा नियन्त्रणमा गृहमन्त्री थापाले विशेष अभियान नै घोषणा गरेका थिए । उनले हत्याहिंसाका घटना नियन्त्रणका लागि भन्दै मदिरा नियन्त्रणको अभियान थालेका हुन् । तर यी अभियानमा उनले सोचेजस्तो नतिजा पाउन सकेनन् । उनी आफ्ना अभियानबाट पछि हट्दै गए । 

 

प्रचण्डको विश्वास जितेर पार्टीको सचिवालय सदस्य बनेका बादल यतिबेला उनै प्रचण्डको विरोधी खेमामा छन् । उनी यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीका खास बनेका छन् । 

 

यसबीच उनले पार्टी भित्र र बाहिर आफ्नो पकड बलियो बनाएका छन् । 

 

गृह मन्त्रालयको नेतृत्व गरेका अन्य मन्त्रीभन्दा बादल इमानदार रहेको कुरा प्रजातन्त्रपछि सबैभन्दा लामो समय गृह मन्त्रालय सम्हालेका उनी भ्रष्टाचार, अनियमितता र भनसुनको विवादमा नआउनु बलियो प्रमाण मान्न सकिन्छ । 

 

कम बोल्ने, आफ्ना कुरा अन्तमा राख्ने बादल प्रवृत्तिको बेलाखबखत आलोचना हुन्छ । तर बालुवाटारमा राति अबेरसम्म प्रधानमन्त्री ओलीको ‘मेजबानी’ मा रमाउँदा बादलका योजना सुन्न लायक हुने उनीसँगै टेबल सेयर गरेका एकपात्र बताउछन् । उनी त्यहाँ भने खुलेर बोल्छन् । उनी प्रचण्डसँग रहँदा समेत बोल्न खोज्थे तर त्यहाँ उनको भन्दा अरुहरुकै स्वर चर्को थियो । 

 

बादललाई प्रतिगमनको मतियार भन्नेहरुको एउटा समूह छ । जो हिजो उनका युुद्धकालीन हितैषी थिए । तर, लोकतन्त्र र गणतन्त्रका लागि ओली चेतमा साथ दिएका बादल गलत हुन् वा सही त्यो समयले बताउला । यतिबेला हामी भन्न सक्छौं, ११४६ दिनमा बादलले पोशाकमात्र होइन, विचार, सिद्धान्त, धारणा, रहनसहन र उठबस सबै फेरिसकेका छन् । 

 

हेरौं यी चोला फेरेका बादल देश र जनताका लागि कति हितकारी हुनेछन् । अहिलेलाई त, अमूक पात्रलाई गृहमन्त्री बनाउन जुकरवर्गको खाता गरम गर्नेहरुलाई हिस्स पार्दै पुनः नियुक्त भएका गृहमन्त्रीलाई बधाई भनौं । ठोकोताली । 

 

(ठोकोताली समाचार, विचार, विश्लेषण र व्यंग्यको रोचक तथा घोचक प्रस्तुति हो । यसमा प्रस्तुत विषय कुनै व्यक्ति विशेष नभई समग्र प्रवृत्तिप्रति लक्षित हो ।)

प्रतिक्रिया

सम्बन्धित समाचार सबै