Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

जेठ २ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदै, केके छन् चुनौती ?

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी २ जेठमा बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै व्यावसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा १ वैशाखदेखि परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । 

 

१ वैशाखमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ । विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र २ जेठ अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताए ।

 

आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने
 

 

उनले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गरे । 

 

नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिए ।

 

गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । 

 

त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकूल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताए ।  

 

नयाँ एयर रुट आवश्यक

 

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।  

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताए । विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बीहरु सिधै लुम्बिनीमा आउनसक्ने उनको भनाई छ ।

 

जनशक्ति व्यवस्थापन

 

महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताए । उनले अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताए । 

 

विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताए ।

 

विमानस्थलको व्यापार र प्रचारप्रसार

 

महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताए । 

 

विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उनको भनाइ छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गरे । 

 

विमानस्थल सञ्चालन

 

महानिर्देशक अधिकारीले विमानस्थल व्यावसायिक ढङ्गले सञ्चालन गर्दा  विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताए । 

 

‘विमानस्थल सञ्चालनको विश्वव्यापी अभ्यास हेर्ने हो भने जुन परम्परागत ढङ्गले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिहेका छौं । अहिले गौतमबुद्ध विमानस्थल पनि त्यही मापदण्डमा त्यही ऐन र नियमावली अनुसार हामीले सञ्चालन गरिरहेका छौं । अब हामीले विस्तारै विमानस्थलको अप्रेशन, यसको मर्मत समग्र यसको सञ्चालन नीजि क्षेत्रले गराउनु पर्छ । त्यो नीति राज्यले लिनुपर्छ,’ अधिकारीले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै