Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सशस्त्र द्वन्द्वमा हतियार खोजिरहेको प्रहरीले शान्ति अवस्थामा किन भित्राउँदै छ ११ हजार थान युद्धकालिन हतियार 

नेपाल प्रहरीको पोशाक निलो पाइन्ट र आकाशे रंगको कमिज हो । यी दुबै रंग शान्तिका प्रतिक हुन् । 

 

२०४६ मा प्रजातन्त्र स्थापनासँगै प्रहरीले लगाउने खैरो रंगको पोशाक परिवर्तन भयो । याे निर्णय जनआन्दाेलन अघि नै भएकाे थियाे । तर त्यसकाे कार्यन्वयन पछि भयाे। यसले त्यो पोशाकप्रतिको घृणा शान्त बनाउन सहयाेग पुग्याे । प्रहरी पाेशाक परिवर्तन त्यसबेला स्वर्गीय राजा विरेन्द्र र तत्कालिन महानिरीक्षकले गरेका थिए।

 

नेपाल प्रहरी देशका ७७ जिल्लामा उपस्थित भएको र नागरिकसँग प्रत्यक्ष सरोकार र घुलमिल भएको संगठन हो । उसको नारा नै छ, ‘प्रहरी हाम्रो साथी’ । तर अपराध नियन्त्रण र अनुसन्धानसहित शान्ति सुब्यवस्था कायम गर्ने मूल एजेण्डा पाएको उही हाम्रो ‘साथी’ ले सोमबार चर्चित फोकल्याण्ड युद्धमा प्रयोग भएका अत्याधुनिक हतियार भित्राएको छ । 

 

भलै यी हतियार नेपाली सेनाले प्रहरीलाई निशुल्क दिएको होस, तर ती हतियार प्रहरीले स्वीकार किन गर्यो? यतिबला यो प्रश्न धेरैलाई खटकिएको छ । 

 

के देशमा सशस्त्र द्वन्द्व हुन थालेको हो? वा प्रहरी समेत सीमामा युद्धमा खटिन थालेको हो? वा देशमा कुनै ठुलो आतंकबादी हमलाको सम्भावना छ ? 

 

पछिल्लो राजनीतिक घटनाक्रमले शान्तिपूर्ण आन्दोलन बढने संकेत स्पष्ट छ । तर विगतमा जस्तो सशस्त्र द्वन्द्व, आतंककारी हमला वा छिमेकीसँग युद्ध तत्कालका लागि कल्पना भन्दा बाहिर छन्  । 

 

तर, सोमबार नेपाल प्रहरीले करिब ११ हजार थान हतियार र १५ लाख गोलीगण्ठा नेपाली सेनाबाट भित्राउने सहमती गरेको छ । पहिलो खेपमा ३ सय थान हतियार र ४२ हजार ३ सयभन्दा बढि गोलीहरु भित्राएको छ । 

 

 

यो सेना–प्रहरी लेनदेनको तस्बिरमा चार प्रकारका अति घातक तथा फोकल्याण्ड युद्धमा प्रयोग भएका हतियार बीचमा राखेर प्रधानसेनापति पूर्णचन्द्र थापा र महानिरीक्षक शैलेश थापा क्षेत्री उभिएका छन् । 

 

 

सेना र प्रहरीले जारी गरेका बिज्ञप्तीमा विभिन्न प्रकारका राइफल र मेशिन गनमात्र भनिएको छ । त्यसो त कानूनी व्यवस्था अनुसार हतियारका बिषय गोप्य राख्न पाउने दुबै सुरक्षा निकायको अधिकारको बिषय हो । 

 

 

तर, हतियारका जानकारहरुका अनुसार तस्बिरमा देखिएका हतियार मुख्य चारथरीका छन् ।  पहिलो एसएमजी (सव मेशिन गन),  इन्सास (इण्डियन स्माल आम्र्स सिस्टम), एलएसडब्लुु (लाइट सर्पोट विइपन्स)  र एसएलआर (सेल्फ लोडिङ राइफल) हुन् । यी सबै घातक हतियार हुन् । युद्ध, सशस्त्र द्वन्द्व र आतंकबादी हमलाको खतरा भएका देशमा यी हतियार फ्रन्ट लाइनर सेक्युरिटी फोर्सलाई दिइन्छ । 

 


र अर्को अचम्म त, यी हतियार सेनाले प्रहरीलाई निशुल्क दिने निर्णय १७ जेठ २०७८ मा मन्त्रीपरिषद् बैठकले गरेको सेनाको बिज्ञप्तीमा उल्लेख छ । तर सो दिनको सार्वजनिक मन्त्रीपरिषद् निर्णयमा यो बिषय समेटिएको छैन् । 

 

 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनलायका अनुसार नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका यी हतियार दिइएको हो । तर, विशिष्ठ ब्यक्तिको सुरक्षा, तालिम र मेघा इभेन्टका लागी यस्ता हतियार किन चाहिए भन्ने बिषय स्पष्ट हुन सकेको छैन् । 

 

 

‘राज्यले फेरि देशमा सशस्त्र द्वन्द्व वा त्यस्तै प्रकृतीका हिंसाको सम्भावना रहेको मूूल्याँकन वा बिश्लेषण गरेको हुनुुपर्छ,’ नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘हिजोको जस्तै सशस्त्र द्वन्द्वमा प्रहरी खटाउने राज्यको नीति रहेमात्र यी हतियार आवश्यक होलान।’ 

 

 

सेनाले दिने यी हुन घातक हतियार  

 

सेनाले हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गर्नेछ । यस्तै उपलव्ध गराईएका हतियारहरु को मर्मत  तथा प्रयोगको तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको सेनाले जनाएको छ । 

 

सेना र प्रहरीले सोमबार सार्वजनिक गरेका तस्बिर अनुसार मुख्य चार प्रकारका सानाठुला हतियार करिब ११ हजार थान प्रहरीले प्राप्त गर्दैछ । ती हतियार तस्बिरका आधारमा पर्दाफासका सुरक्षा बिश्लेषकले पहिचान गरेका छन् । 

 

यो तस्बिरमा प्रधानसेनापति थापातीरबाट हेर्दा  पहिलो सव मेशिन गन (एसएमजी) हो ।  ३४ राउण्ड म्याग्जिन क्षमता भएको यो मेशिन गन भिडमा धेरै ब्यक्तिलाई निशाना बनाउन प्रयोग हुन्छ । नाईन एमएमको गोली लाग्ने यो हतियारले  ७५ देखि १ सय गजसम्म मार हान्न सक्छ । भारत र बेलायतमा बनेको यो हतियार सेनाले भारतबाट खरिद गरेको हो ।

 

यस्तै दोस्रो राइफल इन्सास (इण्डियन स्माल आम्र्स सिस्टम) हो । यसले सिंगल सट तथा तीन राउण्डमा ब्रस्ट (भटाभट) हान्न सक्छ । सशस्त्र द्वन्द्वका समय भारतबाट भित्रिएको यो हतियारपछि अवकाशप्राप्त सेनापति गौरब शम्सेर राणाको कार्यकालमा समेत खरिद गरिएको हो । चार सय मिटरसम्म निशाना नचुक्ने यो हतियार भारतीय हो । यो हतियार भारतीय सेनाले शान्ति मिशनमा समेत प्रयोग गर्छ । यसको दोस्रो खेप सेनाले खरिद गरेको धेरै समय भएको छैन् । 

 

प्रहरीले सेनाबाट प्राप्तगर्ने अर्को हतियार हो– एलएसडब्लुु (लाइट सर्पोट विइपन्स)  । तीस राउण्ड गोली क्षमता भएको यो हतियार अत्याधुुनिक छ  । फाइभ प्वाइन्ट फाइभ सिक्स राउण्डको गोली लाग्छ । एकहजार मिटरसम्म मार क्षमता भएको यो हतियार अत्याधि चिसोमा समेत जाम नभइ काम गर्छ । 

 

सेनाले यो हतियार आफ्नो सेक्सन बलियो बनाउन प्रयोगगर्दै आएको छ पच्चिस म्याग्जिन र १२ सय राउण्डसम्मको यो हतियार एउटा सेक्सनमा दुई नालसम्म राख्ने सेनाको आन्तरिक रणनीति छ  । 

 

यस्तै नेपाल प्रहरीसँग समेत रहेको एसएलआर (सेल्फ लोडिङ राइफल) समेत सेनाले दिँदैछ । भारत र बेल्जियम निर्मित यो हतियार फोकल्याण्ड युद्धमा प्रयोग भएका थियो । सेमी अटोमेटिक यो हतियारमा सेभेन प्वाइन्ट सिक्स टु को २० राउण्ड गोली लाग्छ । । हाल धेरैमात्रामा यो हतियार सशस्त्र प्रहरीले प्रयोग गरिरहेको छ । तीनसय मिटर दुरी मार क्षमता भएको यो हतियार बढि प्रचलनमा छ । 

 

सेनाले किन सशस्त्र र प्रहरीलाई हतियार दियो? 

 

सेनाले सरकारबाटै औपचारिक निर्णय गराएर यसअघि सशस्त्र प्रहरीलाई ६सय थान इन्सास राइफल दिएको थियो । साउन २०७७ मा सशस्त्रलाई हतियार हस्तानान्तरण गरेको सेनाले त्यसको करिब एकवर्षपछि नेपाल प्रहरीलाई हतियार दिएको हो । 

 

नेपाल प्रहरीमा सेनाबाट घातक हतियार भित्रनुमा भक्तपुर जिल्ला र थापा तथा कार्की थरको भरपुर उपयोग भएको नक्सालभित्र ‘गसिप’ चलिरहेको छ । 

 

केही महिनाअघि दिनअघि प्रहरी महानिरीक्षक थापा क्षेत्री, एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेलले गरेको अनौपचारिक छलफलमा निर्वाचनमा हतियार अपुग भए सेनासँग माग्ने बिषय उठेको थियो । 

 

सेनासँग रहेका घातक हतियार माग्नका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका एआईजी प्रद्युम्न कार्कीलाई जिम्मेबारी तोकिएको थियो । एआइजी कार्की र प्रहरीको प्रशासन प्रमुख एआइजी निरजबहादुर शाहीले यसका लागि पटक–पटक नेपाली सेनाको नीति योजना महानिर्देशक उपरथी अनन्त कार्कीसँग छलफल गरेर यो बिषय टुङगोमा पुर्याएका हुन् । 

 

यहाँ संस्मरण रहोस प्रहरीका कार्की र सेनाका कार्की भक्तपुरका हुन् । दुबै साथी हुन् । यस्तै सेनापति र प्रहरीपति थापा हुन् । यो जिल्ला र थरको निकटताकाबीच सेनाले खेलेको भित्री खेलमा प्रहरी समेत ‘शालिन’ सहभागी बनेको छ । 

 

अर्को महत्वपूर्ण बिषय हो हतियार खरिदमा आउने मोटो कमिशन । 

 

 

प्रहरीलाई हतियार आवश्यक थियो । तर उसले खरिदगर्ने भनेको गैर घातक र भिड नियन्त्रण हुने हतियार हो । उसले यी हतियार आफै टेण्डर गरेर समेत खरिदगर्न सक्थ्यो । महानिरीक्षक थापा क्षेत्रीले भोली हतियार खरिदमा आउने आलोचना र अख्तियारको डरले यो ‘शालिन’ निर्णय गरे । 

 

नेपाली सेनाका गणहरुका कुनैमा इन्सास, कुनैमा गलिल, कुनैमा एसएलआर त कुनैमा एम–१६ छन् । सेनाले आफ्नो दिर्घकालिन रणनीति अनुसार फौजमा हतियार एकरुपता राख्ने निर्णय गरेको थियो । यसका लागि अमेरिकामा निर्मित एम–१६ करिब ३५ हजार खरिद गरेको थियो । तर, प्रधानसेनापति थापाको कार्यकालमा दक्षिण कोरियाबाट १० हजार थान केटु राइफल खरिद गरेको छ । 

 

अब, सेनाले आफुुसँग रहेका हतियार बिस्थापितगर्दै नयाँ हतियार खरिद गर्नेछ । जसमा कमिशन आउने तर अख्तियार धाउन नपर्ने कानूनी सुविधा सेनासँग छ । 
 

प्रतिक्रिया

1
  • Xuiiwj

    फाल्गुण ३, २०७८

    cialis 20mg tablet - cialis 10mg generic tadalafil 5mg for sale

प्रतिकृया थप्नुहोस्
  • Xuiiwj

    फाल्गुण ३, २०७८

    cialis 20mg tablet - cialis 10mg generic tadalafil 5mg for sale

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै