Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

एउटा अब्बल शिक्षालय नेकः लोभी–पापी नेतृत्वले घूस र ठगीको अड्डा बन्यो

नेपाल इन्जिनियरिङ कलेज र ब्यूरोले पक्राउ गरेका लम्बोदर न्यौपाने ।

नेपालमा प्राविधिक उच्च शिक्षाका लागि पुल्चोक इन्जिनियरिङ कलेजकै तहमा अध्ययन–अध्यापन गराउने संस्थाको कमि त्यतीबेला पुरा भयो । जव २०५०–२०५१ मा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ ( नेक) कलेज स्थापना भयो । 


देश–विदेशबाट उच्च शिक्षा लिएका हस्तीहरुले स्थापना गरेको कलेज ‘समाजवादी’ मोडलमा थियो । कलेजले अध्यापक–प्रध्यापक देखि स्थानीयसम्मलाई सहुलियतमा आफ्ना सन्ततीको इन्जिनियर बन्ने सपना साकार बनायो । 


सुरुवातकै केही वर्षमा कलेजले मनग्गे पैसा कमायो । कलेजको भौतिक संरचना पनि थपिदै गयो । 


२०५६ सम्म आइपुग्दा पुल्चोक कलेजको बिकल्पमा पुगेको नेक यहाँसम्म ठिकठाकै थियो । 


१८ असार २०५६ मा व्यवस्थापन समितीको बागडोर लम्बोदर न्यौपानेको हातमा आयो । जम्माजम्मी पाँच महिना नेतृत्व सम्हालेका लम्बोदरमा त्यतीबेला नै लोभ पलायो । जसले कलेजलाई आजको अवस्थामा पुर्याएको छ । 


एउटा अब्बल प्राविधिक शिक्षालय यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई घूस खुलाउने देखि ठगीसम्मका घटनामा प्रत्यक्ष र परोक्ष मुछिएको छ । विवाद चुलिएको छ । 


केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार नेकका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ठगी आरोपमा पक्राउ गरेपछि थप घटनाक्रम छताछुल्ल भएका छन् ।  


कुनै समय कलेजको स्थापनाकार भनेर पुजिएका न्यौपाने बिरुद्ध कलेजले प्रहरीमा उजुरी दिएको थियो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको ब्यूरोका  निर्देशक डीआईजी सहकुल थापाले बताए  ।

 

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।


उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा  मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ ।

 

ब्यूरोले न्यौपाने सहित उनका साढु दाई तथा कलेल संचालक समितिका सदस्य ८३ वर्षीय रामरत्न उपाध्याय, मृत्यु भइसकेका नेपाली कांग्रेसका सभाषद तथा उद्यमी सूर्यबहादुर केसी, चाईना स्टडी सेन्टरका कोषाध्यक्ष तथा संचालक समिति सदस्य उपेन्द्र गौतमर  लबराज भट्टराईलाई प्रतिवादी बनाएर ठगी मुद्दा अघि बढाएको छ । 

 

यस्ता छन्  लम्बोदरका कसुरहरु 


ब्यूरोले लम्बोदरलाई पक्राउ गर्नुअघि उनका बिषयमा बिस्तृत अनुसन्धान गरेको थियो । उसको अनुसन्धानमा लम्बोदर सहित उनको समुहमा रहेका सदस्यहरुले जही डेढ करोड लिएको खुलेको थियो । 


सञ्चालक समितीको  २० फागुन २०७३ को बैठकबाट यो निर्णय भएको थियो । 


यस्तै अनुसन्धानमा कलेजको रकमबाट खरिद गरेको पचास लाख रुपैयाँ बराबरको गाडी फिर्ता नगरी तत्कालिन अध्यक्ष लम्बोदरले आफ्नो नाममा दर्ता गरि चलाउदै आएका थिए  ।


उनले कलेजको लेटर प्याड र छापको दुरुपयोग गरि खर्च नै नभएको सचिवालयको खर्चको बहानामा ५७ लाख ५० हजार रुपैयाँ रकम झिकेका थिए ।

 
लम्बोदरले काल्पनिक शिर्षक बनाई सादा कागजमा हस्ताक्षर गरि बिल भरपाई नचाहिने गरि आफ्नो कार्यकालको बिभिन्न मितिमा रकम झिकी प्रयोग समेत गरेको अनुसन्धानमा खुलेको थियो । 


कलेजक सञ्चालकहरुले नै संस्था ठगी गरेको हुँदा  संस्था सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरि पूरानो सञ्चालक समिती २३ मंसिर २०७६ मा भंग गरिएको थियो । त्यही दिन चाँगु नारायण नगरपालिकाका मेयरको अध्यक्षतामा ९ सदस्सीय सञ्चालक समिती गठन भएको थियो । 


न्यौपाने बिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट सम्पत्ति शुद्धीकरण सम्बन्धि कसूरमा अनुसन्धान भई रहेको  छ ।


यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्धाको कसूरमा धरौटीमा रिहा भएका उनी बिरुद्धको मुद्दा बिचाराधिन छ ।

 

यस्तो छ नेकको ओरालो यात्रा 


अख्तियार आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरण २०७४ वैशाख २५ मा सुरु हुन्छ ।  यही मितिमा नेपाल इन्जिनियरिङ कलेज प्रालि कम्पनी राजिष्टारको कार्यालयमा दर्ता भयो। 


२५ वर्षदेखि गैर नाफा मुलक संस्थाका रुपमा सञ्चालन हुँदै आएको सो कलेज सामाजिक संघसंस्था ऐन अन्तर्गत सञ्चालित थियो । 


कलेज सञ्चालक समिति अध्यक्ष रहेका  न्यौपाने त्यसको स्वामित्व परिवर्तन गरी निजी बनाउन चाहन्थे। सोही उद्देश्यले नेपाल इन्जिनियरिङ कलेज प्रालि दर्ता भयो ।  

तर ७ सदस्यीय कलेज सञ्चालक समितिमा प्राडा दीपक भट्टराईसहित ३ जना यो निर्णयको विपक्षमा उँभिए। उनीहरु निवेदन लिएर अख्तियार पुगे। अख्तियारमा शिक्षा क्षेत्रको अनियमितता हेर्ने जिम्मेवारी आयुक्त पाठकको थियो।


यसमा भट्टराईका छोरा सलिल भट्टराई अग्रपक्तिमा देखिए । 


यही विवाद मिलाउन आयुक्त पाठकले पटक–पटक गरेर न्यौपानेसँग घूस लिए । 


उनले ७८ लाख रुपैयाँ घूस बुझेको रिपोर्ट र भिडियो सार्वजनिक भएपछि कलेजभित्रको कालो कथा बाहिर आयो । 


कलेजको डेढ अर्ब रुपैयाँको सम्पति हड्प्ने विषयमा संचालकहरुको विचमा लामो समयदेखि हुँदै आएको विवादमा अख्तियारका आयुक्त पाठक मुछिएका थिए ।  


कलेज र पाठकबिच तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का केन्द्रीय सदस्य ज्ञानेन्द्र झा सहयोगी भुमिकामा थिए । 


झाले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक समिति अध्यक्ष लम्बोदर न्यौपाने समूहबीच सूत्रधारको काम गरेका थिए।

पाठकले कलेजको स्वामित्व विवाद मिलाई दिने आश्वासन दिएपछि झाले नै मिठाइ डब्बामा राखेर ७८ लाख रुपैयाँ पाठकलाई बुझाएका थिए। ४० र ३८ लाख रुपैयाँ गरी दुई किस्तामा पाठकलाई पैसा बुझाएका थिए।


तत्कालीन आयुक्त पाठकसँग लेनदेनबारे गरेको सम्वाद पहिलो पटक झाले नै रेकर्ड गरेका थिए। सोही रेकर्डका आधारमा पाठकले घूस लिएको प्रकरणमा स्टिङ अपरेसन भएको थियो।


सुरुमा नेता झाले एक इन्जिनियरिङ कलेजलाई पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन दिलाउन डिन शुभनारायण पाठकलाई १५ लाख घूस दिएका थिए। सो कारोबारपछि पाठक र झाबीच सम्बन्ध अझ विश्वस्त बनेको थियो। यही सम्बन्ध उपयोग गर्दै न्यौपाने र तत्कालीन आयुक्त पाठकबीच घूस लेनदेन भएको थियो।


पैसा लिए पनि तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजविरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा नराखेपछि स्थिति असहज भएको थियो। त्यसपछि झा समूहले आफूसँग भएको लेनदेनको सम्वादका भरमा स्टिङ अपरेसन सुरु गरेको थियो। भिडियोमा पाठकले घूस रकम लिएको स्वीकार गरेका छन् ।  


नेपालखबर डट कमका पत्रकार मणि दाहालले पाठकले घूस लिएको विषय सबैभन्दा पहिला १ फागुन २०७५ मा खुलासा गरेका थिए । ३ फागुन २०७५ मा पाठकले पदबाट राजीनामा दिएका थिए। महान्यायाधिवक्ताको रायपछि ७ फागुन २०७५ मा अख्तियारले उनीविरुद्धको अनुसन्धान अघि बढाउने निर्णय गरेको थियो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै