
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् ।
यस्तै यसपटकको महासभामा इन्टरपोलको कार्यकारी समितिको निर्वाचन समेत हुनेछ । नेपालले सदस्य राष्ट्रका हैसियतमा मतदानको अधिकार राख्ने भएकाले नेपालको उपस्थिती महत्वपूर्ण हुनेछ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालले कुन राष्ट्रलाई मतदान गर्ने बिषयमा सरकारले निर्णय गरेर नेपालबाट प्रतिनिधीगर्ने टोलीलाई निर्देशन दिने तयारी भइरहेको छ । यो बिषयमा सरकारले एकदुई दिनमै निर्णय गर्नेछ ।
प्रहरी प्रधान कार्यालयस्थित एक उच्च अधिकारीका अनुसार महानिरीक्षक थापा क्षेत्रीले नेपालमा एक अर्व २२ करोड २२ अर्व ठगी गरेर अमेरिकामा बसिरहेका पवनकुमार कार्कीका बिषयमा महासभामा सहभागी हुने संयुक्त राज्य अमेरिकाका सुरक्षा अधिकारीसँग छलफल गर्ने समय तय भएको छ ।
उनलाई नेपाल ल्याउने बिषयमा भइरहेको प्रगती र कानूनी अडचनका बिषयमा छलफल हुनेछ । उनी बिरुद्ध ७ जनवरी २०१६ मा रेड नोटिस जारी भएयता निरन्तर नेपाल ल्याउने प्रयास भइरहेको छ । तर नेपाल र अमेरिकाबीच बिद्यमान कानूनी अडचनका कारण उनी त्यहाँ खुलेआम भब्य जीवनयापन गरिरहेका छन् ।
यस्तै महानिरीक्षक थापा क्षेत्री नेपालमा सनम शाक्य हत्या तथा करिब ३८ सय किलो सुन चोरी पैठारीका नाईके भनिएका मोहनकुमार अग्रवाललाई उनी लुकेर बसेको सम्भावित खाडी देश र भारतका प्रतिनिधीसँग छलफलगर्ने तय भएको छ । यस्तै सोही प्रकरणमा फरार रहेका गोरे भनिने चुडामणि उप्रेतीका भाई रमेश उप्रेतीलाई नेपाल ल्याउने बिषयमा समेत छलफल हुनेछ ।
इन्टरपोल महासभामा नेपालले सुन तस्करी प्रकरणकै अभियुक्तहरु रोहित आचार्य, भोजराज भण्डारी, टुकबहादुर मगर, कृष्ण बस्नेत र गोपाल अग्रवालका बिषयमा समेत उनीहरु लुकेर बसेका देशका प्रतिनिधीसँग छलफल गर्नेछ । यस्तै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सुर्दशन गौतमका बिषयमा समेत छलफल हुनेछ ।
'चिफ सरले मुख्यतहः अमेरिका, खाडी देशहरु र भारतका तर्फबाट महासभामा प्रतिनिधित्व गर्ने अधिकारीसँग औपचारिक -अनौपचारिक भेटघाट र छलफलगर्ने कार्यक्रम तय भएको छ,' उच्च प्रहरी अधिकारीले पर्दाफाससँग भने, 'दुई देशकाबीच रहेका कानूनी अडचन र सहकार्यमा देखिएका वाधाका बिषयमा समेत बिचार विमर्स हुनेछ ।' उनका अनुसार नेपालले अन्य देशसँग सहयोग माग्ने छ ।
नेपालले इन्टरपोलको कार्यप्रगती र उपस्थितीलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा समेत छलफलको तयारी गरेको छ । उसले इन्टरपोल सदस्य राष्ट्रहरुबीचको सहकार्यलाई प्रभावकारी बनाउने बिषयमा छलफल गर्नेछ ।
नेपालस्थित इन्टरपोलको काठमाडौं एनसीबीले हालसम्म ३४ जना नेपाली र तीन भारतीय नागरिक बिरुद्ध रेड नोटिस जारी गरेको छ । जसमा आर्थिक अपराध, बैंक ठगी, मानबेचबिखन तथा ओसारपसार, हत्या, यौन हिंसा, बन्यजन्तु सम्बन्धी अपराध र सुनको अवैध चोरीपैठारी रहेका छन् ।
एनसीबी काठमाडौंको तथ्याँक अनुसार सन् २००७ देखि २०२१ को मार्चसम्म यी ३७ बिरुद्ध रेड नोटिस जारी भएको हो । जसमा यौन हिंसाका अभियुक्त स्टिफन रक लेबण्ड र लागूऔषधका अभियुक्त लल्लुप्रसाद यादव तथा साढे तीन करोड रुपैयाँ बढी ठगीका अभियुक्त राहुल हल्दिया भारतीय नागरिक हुन् ।
महानिरीक्षक थापा क्षेत्री, अपराध अनुसन्धान विभागका प्रमुख एआइजी प्रद्युम्न कार्की र एसपी सविन प्रधान टर्कीमा आयोजना हुने महासभामा सहभागी हुँदैछन् ।
टर्कीको इस्तानवुलमा ७ देखि ९ मंसिरसम्म इन्टरपोलको ८९ औं महासभा हुनेछ ।
थप
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit