Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न अनिच्छुक, एसपीपी सम्झौता नगर्न राजनीतिक नेतृत्वलाई सुझाव

नेपाली सेनाले सबै छिमेकी देशसँग समानताका आधारमा सहकार्य गर्न चाहेको राजनीतिक नेतृत्वलाई स्पष्ट पारेको छ । उसले सैनिक सहकार्यको अर्थ कुनै पनि सैंन्य गठबन्धनको हिस्सा नेपाली सेना नबन्ने स्पष्ट समेत पारेको हो । 

 

उच्च सैन्य अधिकारीका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले ४ असारबाट संयुक्त राज्य अमेरिकासहितको विदेश भ्रमणअघि रक्षामन्त्रीसमेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन र विपक्षी दलका शीर्ष नेतासमेतलाई यसको जानकारी विभिन्न ‘च्यानल’ मार्फत गराइएको हो । 

 

उसले ‘कुनै पनि मिलिट्री अलाइन्स’ मा नेपाली सेना नबस्ने तर आवश्यकताको सिद्धान्तका आधारमा सबै छिमेकी देशसँग समान व्यवहार र सहकार्यलाई निरन्तरता दिने शीर्ष राजनीतिक नेतृत्वलाई बताएको हो । 

 

‘चिफ सर आफै स्वयमले भेटेर र अन्य ‘च्यानल’ मार्फत तत्काल वा भविष्यमा समेत एसपीपी सम्झौता नगर्ने अडान दोहो¥याउनु भएको छ,’ उच्च सैनिक स्रोतले पर्दाफाससँग भन्यो, ‘हामी सबैसँगको सम्बन्धमा एकरुपता चाहन्छौं, यसका लागि हाम्रो सार्वभौम अस्तित्व सबैका लागि स्वीकार्य छ र रहिरहनुपर्छ भन्ने नेपाली सेनाको मान्यता र विश्वास हो ।’

 

सैनिक स्रोतका अनुसार नेपाली सेनाले देखाएको स्पष्टतापछि राजनीतिक नेतृत्वले हाललाई एसपीपी सम्झौता अघि नबढाउने संकेत गरेको छ । 

 

अमेरिकी सेनाले करिब २५ वर्षअघिदेखि सैनिक सहकार्य र सैन्य गठबन्धनको राजनीति, कूटनीतिक र सैनिक सम्बन्धका आधारमा निर्माण भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतालाई अघि सार्दै आएको छ । 

 

उसकै भाषामा भन्दा स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)  अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम हो । अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद् बिरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ । 

 

उसले २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको जनाएको छ ।

 

तर, नेपालसँग उसले गर्न चाहेको सम्झौता यतिमा मात्र सीमित नरहेपछि नेपाली सेना झस्किएको हो । 

 

उसले प्रस्तावित सम्झौतामा देशको जुनसुकै भागमा अमेरिकी सेना परिचालित हुन सक्ने र अमेरिकी सैनिकहरू अनिश्चित कालसम्म नेपालमा रहन सक्ने प्रावधानमा आपत्ति जनाएको हो । 

 

यही कारण तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा अमेरिकी सेनाले पठाएको एसपीपी सम्झौता–पत्र मस्यौदामा सेनाले चासो नदिएको हो ।  


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै