Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपालसँग विद्युत् आन्तरिक खपत गरी निर्यातसमेत गर्ने क्षमता छः राष्ट्रपति भण्डारी 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालसँग विद्युत् आन्तरिकरुपमा खपत गरी निर्यातसम्मको क्षमता रहेको बताएकी छिन् ।

 

शनिबार काठमाडौंको  भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित विजुलीका कारण केही वर्षअघि मात्रै मुलुकले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान आफ्नै उत्पादन हुनु रहेको बताइन् । 

 

भण्डारीले दुई छिमेकी मुलुक भारत र चीनमा पनि विद्युत व्यापारका लागि प्रशारण लाइन निर्माण गर्ने काम सुरु भएको भन्दै त्यसले मुलुकमा यस क्षेत्रको विकासका लागि लगानी गर्न प्रतिस्पर्धाको वातावरण बन्ने विश्वास व्यक्त गरिन् । 

 

उनले भनिन्, ‘‘हाम्रो मुलुकमा जलविद्युत उत्पादनका हाम्रो दशमा जलविद्युत उत्पादन र व्यापारका क्षेत्रमा विद्यमान अनेकौ संरचनागत चुनौतिको सामना गर्दै ऊर्जा व्यवसायीहरु संगठित र संस्थागत हुँदै जानु सन्तोषको विषय हो । हाम्रो मुलुक अथाह जलसम्पदाले सम्पन्न छ । विद्युतको आन्तरिक खपत गरी निर्यात गर्ने क्षमता समेत हामी राख्दछौं ।’

 

उनले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपाल: सुःखी  नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु प्राथमिकताकाो विषय रहेको उल्लेख गरेकी छिन् । 

 

उनले थपिन्, ‘एक शताब्दी अघि नै उत्पादन सुरु गरी नेपालले जलविद्युतका क्षेत्रमा सम्भावनाको ढोका खोलेको विषयमा प्रायः चर्चा हुँदै आएको छ । हाम्रो राष्ट्रिय ऊर्जा आवश्यक्ता पूरा गर्ने उद्देश्य राखेर जलविद्युत विकासका लागि योजनावद्ध प्रयास हुन थालेको समेत आधा शताब्दी भइसकेको छ । यी प्रयास भए पनि जनताको ठूलो संख्याले अझै बिजुली बाल्न पाएका छैनन् भने हाम्रा उद्योगहरुले आज पनि माग अनुसार विजुली प्राप्त गर्न सकिरहेका छैनन् ।’

 

उनले निजी क्षेत्रलाई साना र मझौंला जलविद्युत आयोजनामा लगानी गरेर उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन पनि आग्रह गरेकी छिन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै