Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।

 

 

शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान हुने बताएका छन् । उनले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताएका छन् । उनले काठमाण्डौ उपत्यकामा अब ९ वटा सबस्टेशन थपिँदै भएकोले उक्त सबस्टेशन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने बताएका छन् । उनले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको बताएका छन् ।

 

 

‘विगत ३/४ दिनदेखि विद्युत आपूर्तिमा केही समस्याहरु देखियो भन्ने जनगुनासोहरु आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन । काठमाडौंमा मात्रै हो । यो सप्लाईको कारणले भएको समस्या होइन । सप्लाई नपुगेको हुनाले हामीले आपूर्ति नभएको पनि होइन । काठमाडौंका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँहरुमा मात्र समस्या भएको हो । बास्तवमा हाम्रो विद्युतको बेलुकाको पिक लोड अहिले करिव १७ सय मेगावाट र बिहानको करिव साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ । त्यसमा हामीले सप्लाई गर्न सकिरहेका नै छौँ । अपर तामाकोशी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाडौंमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाडौंको लोड बढेको छ’ उनले भने ।

 


‘पानी परेपछि ठाउँ ठाउँमा हाम्रो लोडहरु अनएक्सपेक्टेड रुपले बढ्यो । त्यसले गर्दा सिस्टममा सब्स्टेशनबाट फिडरहरु निस्किन्छ, काठमाडौं भित्र धेरै सब्स्टेशनहरु छन् । जसले काठमाडौं भित्रको लोडलाई सप्लाई गरिरहेको छ । सब्स्टेशनहरुबाट निस्केको धेरै फिडरहरुमध्ये, त्यसमा पनि धेरै ट्रान्सफर्मरहरु हुन्छन्, काठमाडौं उपत्यकामा मात्रै करिव ३७ सय ट्रान्सफर्मरहरु छन् । त्यसबाट हाम्रो आ उपभोक्तलाई सप्लाई हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०÷२० वटा ट्रान्सफर्मरहरुमा समस्या आउने हुन्छ । अहिलेको मेजर समस्या वितरण ट्रान्सफर्मरहरु ओभरलोड भएको हो । लोडअनुसार हामीले ट्रान्सफर्मरहरु फेर्ने काम गरिरहेका छौँ । केही फिडरहरुमा पनि आगलागी भयो । केही स्थानमा भने ट्रान्सफर्मरहरु पछि पनि केवलहरु घरमा जान्छ, त्यसमा आगलागी भएकोले फेर्दा समस्या आएको हो’ उनले भने ।

 

 

उनले आजबाट उपत्यकामा ट्रान्सफर्मरहरु परिवर्तन गरिसक्ने भएकोले विद्युत जाने समस्या नहुने बताएका छन् । उनले केही स्थानमा त्यहाँका बासिन्दाहरुले सबस्टेशन बनाउन नदिएकोले पनि समस्या आउने गरेको भन्दै स्थानीयहरुले सब्स्टेशन बनाउन दिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै