Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

दोभान बजारवासीलाई भूकम्पपीडित सरह सहयोग दिन गृहमन्त्रीसँग माग


ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ ।

 

ताप्लेजुङको मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी भई ४९ घर जलेर ध्वस्त भएका छन् भने डेरावालसहित ७९ परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाइएको हो । 

 

नेता भट्टराईले पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगका बजारहरुमा आगलागीबाट हुने जोखिम र क्षति न्यूनीकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन, व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको बताए । 

 

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्दारको काम सुरु भइसकेको बताए । आवासको निम्ति भूकम्पपीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले जानकारी दिए ।

 

गृह मन्त्रालयले प्रतिपरिवार १५ हजार रुपैँयाका दरले राहत रकम पठाइसकेको छ । मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै