
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।
उनले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ । १ लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब १ लाख ४५ हजार करिव उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिन्ह प्रदान हुन्छ ।’
शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदै छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit