
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा पेश गरेका छन् ।
शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि पेश गरेका हुन् । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ । सोही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन अध्यक्ष दाहालले आज बिहान बसेको स्थायी कमिटीमा बैठकमा पेश गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
‘पर्सीदेखि सम्मेलन सुरु हुँदैछ, तपाईंहरुलाई थाहा छ । अध्यक्ष कमरेडले डकुमेन्ट प्रस्तुत गनु भयो । प्रस्तुत मात्रै भएको छ, बाचन गर्नु भयो । र त्यसमा हामी छलफल गर्ने क्रममा छौं । त्यसका लागि ३ बजे फेरी बैठक बस्दैछ’ उनले भने ।
बैठकले नेकपा मसालसँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिंगो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit