Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

‘सरकारको प्रभावमा नपरी सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्नेछन्’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुने दाबी गरेका छन् । 

 

मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बताएका हुन् ।

 

संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार दिँदा अघिल्ला प्रधानमन्त्रीहरुका कारण राजनीतिक बिकृती बढेकाले  अहिलेको संविधानमा त्यो अधिकार राजनीतिक सहमतीमा हटाइएको श्रेष्ठले बताए । 

 

सरकार बनाउन नसक्ने अवस्थामा संसद आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनको दाबी थियो । 

संविधानको धारा ७६ को कुनैपनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाई छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधि सभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गरे । 

 

त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाई छ । सरकारले दबाब र प्रभावमा पारी आफु अनुकुल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाईदिने उनले बताए । 

 

आफुहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रीत रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे । पार्टीको आधिकारिकता र चुनाव चिन्ह सूर्य आफुहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठको भनाई थियो । 

 

उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिए । प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्ण रुपमा परास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै