
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचनपछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् ।
संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।
प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए ।
उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउँछन् ? भनी प्रश्न गरे । उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन । जनतामा जाने भनेको डराउँछन । भरसक जनतामा जाने मिति पर सार्छन । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहो¥याउन्न चाहन्नँ । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ । तपाईहरुलाई आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु–किन केही साथीहरु जनतामा जान डराउँछन् ?’
‘देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ–यो पछिल्लो सरकारले हामीले त्यतिबेला सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्शा छापेका थियौं । तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त ?’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पारेको उनको आरोप थियो । नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायव बनाउने गरेको उनको भनाइ थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit