
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले अहिलेको अर्थतन्त्रमा समस्या आउनु पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकार दोषी रहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको बताए ।
सांसद चौधरीले कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताए । उनले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भिरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताए ।
सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको आरोप लगाए ।
सांसद चौधरीले पछिलो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत निर्यात
गर्नुपर्ने बताए । उनले विदेशी कचा पदार्थमा आधारित वस्तुको नेपालले निर्यात गरेर व्यापार घाटामा रहेको ठूलो खाडल पुर्न नसक्ने बताए ।
सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तिमा पनि १५ हजार मेगावाट बढी विद्युत बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउन पर्ने आवश्यकता रहेको बताए । सरकारले नीति तथा कार्यक्रम मार्फत जलविद्युतमा छुटै नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।
चौधरीले शेयर बजारमा धेरै लगानीकर्ताको पुँजी डुबेकाले आगामी बजेटले क्यापिटल मार्केटमा तरङ्ग ल्याउने किसिमको नीति ल्याउनुपर्ने बताए । उनले बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक व्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको बताए ।
चौधरीले राष्ट्र बैंकसँग भएको ५ सय अर्ब भन्दा बढी पुँजी बजारमा ल्याउन माग गरे । उनले सरकार आफ्नो विकास खर्च पनि गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने भएकाले राष्ट्र बैंकले यसको अन्त्य गर्न सक्नुपर्ने बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit