
कीर्तिपुर अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच अस्पतालले बाल चिकित्सा वार्डको शुभारम्भ गरेको हो । अस्पतालले शुरुवाती चरणमा १५ शैय्याबाट सेवा सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रममा अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जर्मन अर्गनाइजेशनअन्तर्गत नेपाल मेटको सहयोगमा यो सेवा शुरु गरिएको बताएकी छन् । उनले नेपाल मेटले शुरुवाती चरणदेखि नै अस्पताललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र त्यसै अन्तर्गत बाल चिकत्सा वार्डमा पनि सहयोग गरेको बताएकी छन् ।
‘हाम्रो कीर्तिपुर अस्पताललाई पहिलादेखि नै सहयोग गरिरहेको छ । जहिले पनि समस्या आएको बेलामा सहयोग गरिरहनु भएको छ । अस्पताल २००६ मा १५ बेडबाट शुरु भएको हो । अहिले हामी एक सय बेडको हाराहारीमा गइरहेका छौँ । सर्भिस बिस्तार गर्दैछौँ । अहिले हामीले ट्रमा वार्ड सञ्चालनमा ल्याउँदै छौँ । ट्रमा टिम नै अहिले हामीसँग छ । अहिले बाल चिकित्सा वार्डलाई विकास गरिरहेका छौँ । १५ बेडको राख्न लागेका हौँ’ उनले भनिन् ।
बाल चिकित्सा वार्ड उद्घाटन कार्यक्रममा अन्य वक्ताहरुले जर्मन सरकारले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit