
मौसमसम्बन्धी पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनैपनि विमान थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक रहेको बताए ।
उनले विगतमा पनि अधिकांश विमान दुर्घटना मौसम प्रतिकूलताको कारण कारण भएको बताए । जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व सूचना प्रणालीलाई प्राथमिकता नदिएको टिप्पणी गरे ।
उनले आगामी दिनमा पूर्व सूचना प्रणाली कार्यान्वयन भए नभएको सुक्षम नियमन नगरे ठूलो जोखिम निम्तिने चेतावनी दिए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जल तथा मौसम विज्ञान विभाग र निजी एयरलाइन्सबीचको तलमेल नमिल्दा पनि यस्तो दुर्घटना हुनसक्ने बताए । जलवायु विज्ञ उप्रेतीले एयरलाइन्सले पाइलटलाई दबाव सिर्जना गरेर विमान उडाउन लगाएको हुनसक्नेतर्फ पनि सरकारले नियमन गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको सन्दर्भमा जल तथा मौसम विज्ञान विभागले दैनिक बुलेटिन निकाल्छ । प्रदेशअनुसार आएको बुलेटिनको कार्यान्वयन कस्तो छ भन्ने कुरा महत्वपूर्ण होला । महाशाखाले दिएको मौसमको जानकारीको कार्यान्वयन र निजी क्षेत्रले आफ्नो लाभहानीको एनालाइसिसबीचको तादम्यता केही फरक हो कि ? जानैपर्छ हामीलाई घाटा हुन्छ भन्ने हो कि, वा पाइलटले जोखिम हुँदाहुँदै प्रेसरमा उडाएको अवस्था हो कि ? किनभने कुहिरो लागेको अवस्था भनिएको छ ।’
उनले थपे, ‘कुहिरो लागिरहेको अवस्थामा पहाडी क्षेत्रमा दिउँसोको अवस्थामा जसरी हावाको वेग त्यो क्षेत्रमा बढी हुने र १० बजेदेखि दिउँसो ३ बजेसम्म हावाको गति बढी हुन्छ । कुनैपनि जहाजको आफ्नो थ्रेसहोल्ड हुन्छ । थ्रेसहोल्ड क्रस भएको हुनसक्छ । त्यसका फरक फरक चरण भनिएको छ । ग्रिन, ट्राफिक लाइन अनुसार
नै त्यसलाई चरणवद्ध गरिएको हुन्छ । त्यो थ्रेसहोल्डलाई हामीले जबरजस्ती लान्छौँ वा त्यसलाई मानेर चल्छौँ ? भन्ने कुराको राष्ट्रिय रुपमा नै अनुगमन गर्न जरुरी देख्छु । विगतमा जलवायुसम्बन्धित भएका विमान दुर्घटना नियाल्ने हो भने मौसमलाई आधार मानेर निर्णय लिने प्रक्रिया भएको छैन । यस्तो निर्णयमा पूर्व सूचना प्रणालीलाई मानेको देखिँदैन । तर यो मान्नुपर्छ । संसारमा जहाँपनि यसलाई जलवायुको अवस्थालाई मध्यनजर गरेर विमान उडाइन्छ । हामीले यसलाई सुक्ष्म तरिकाले अनुगमन गरेनौँ भने यसले जोखिम निम्त्याउँछ ।’
यता जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरुलाई सही समयमा गराइरहेको बताए । उनले ग्राउण्डमा रहेका विभागका अवलोकनका नेटवर्कबाट प्राप्त सूचनालाई सही समयमै सम्बन्धित निकायलाई हरेक दिन बिहान र बेलुका ६ बजे उपलब्ध गराइएको बताए । महानिर्देशक जोशीले कृषि, जलश्रोत विकास पूर्वाधार, पर्यटन र विपद् न्यूनीकरणको लागि सम्बन्धित निकायहरुमा पूर्वसूचना दिने गरेको बताए ।
उनले भने, ‘हाम्रो ग्राउण्डमा हाम्रा अब्जर्बेशन नेटवर्क स्टेशन हुन्छन् । त्यसको आधारमा प्राप्त सूचनालाई अहिलेको प्रविधि र उपकरणको माध्यमले मोडेलको आधारमा हामीले प्रोसेस गरेर पूर्वानुमान गर्छौं । नेपालमा अहिले पूर्वानुमानको एनडब्ल्यूपी प्रोडक्ट प्रयोग गर्छाैँ । सोही आधारमा तीन दिनको पूर्वानुमान बिहान ६ र बेलुका ६ बजे सरोकारवाला निकायहरुको लागि सही समयमा सही सूचना दिने गरेका छौँ ।’
उनले थपे, ‘सूचना लिने निकायमा नेपाल कृषिप्रधान देश भएको भएर कृषि एक नम्बर, दोस्रो नम्बरमा जलश्रोत विकास पूर्वाधारको आधारमा दोस्रो र तेस्रोमा पर्यटन र चौथोमा विपद् न्यूनिकरणको लागि सम्बन्धित निकायहरु छन् । सही सूचना सही समयमा प्राप्त भएर सही निर्णय समयमा हुँदैन भने त्यो सूचनाको खासै महत्व रहँदैन । नेपालको केसमा पनि गत सालकै पोस्ट मनसुनको कुरा गरौँ । कार्तिक एकमा जुन बेमौसमी वर्षा भयो । बेमौसमी वर्षा हुनुभन्दा तीन दिनअघि हामीले सूचना प्रवाह गरिसकेका थियौँ । सूचना प्रवाह मात्रै होइन, विशेष बुलेटिन नै जारी गरेका थियौँ । तर भर्खरै मनसुन सकिएको, चाडपर्वको मुखमा रमाइरहेको अवस्थामा यो मौसमले यस्तो गर्दछ भनेर कसैले अनुमान गरेर एक्शनमा जाने प्रयास नगर्दाको हाम्रो कृषि बालीमा क्षति व्यहोर्नुपर्यो त्यसको मुख्यकारण बुझाइमा अभाव छ ।’
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit