Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

अध्यादेश र संसद बैठक दुबै ‘ढिसमिस’ गर्ने  नेकपा स्थायी कमिटीको निर्णय 

बैठकका बिषयमा जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ ।

सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । 

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा बुधबार बसेको  बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । 

 

यस्तै पार्टीका सांसदहरुले संसद बैठकको माग गरेर राष्ट्रपति समक्ष पेश गर्ने भनेको आवेदन समेत फिर्ता लिने निर्णय बैठकले गरेको छ । 

 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र सांसदहरुले राष्ट्रपति समक्ष संसद बैठकको माग गरेर पेश गर्न लागेको आवेदन फिर्ता लिने निर्णय भएको औपचारिक जानकारी गराएका हुन्। 

 

पार्टीको स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र साथसाथै राष्ट्रपति समक्ष संसदको बैठकको माग गरेर पेश गर्ने भनेको आवेदन पनि फिर्ता गर्ने निर्णय सर्वसम्मतिले भएको श्रेष्ठले बताए । 

 

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले कुनैपनि निर्णय नगरेको जानकारी बैठकमा गराएको समेत श्रेष्ठले बताए । 

 

‘आजको बैठकमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले हिजोको संवैधानिक परिषद्को बैठकमा संवैधानिक नियुक्तीका लागि सिफारिस सम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराउनुभएको छ, प्रवक्ता श्रेष्ठले भने ।’

 


बैठकले स्थायी कमिटीको अर्को बैठक पुष ५ गते बस्ने निर्णय गरेको छ । यस्तै पुष ५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुष १० गते बस्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया

119
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै