
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शुक्रबार गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताए ।
उनले दाहाल–नेपाल समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले व्यंग्य गरे ।
‘उहाँहरु भन्नुहुन्छ, अब शाकाहारी आन्दोलन हुदैन भनेर । शाकाहारी आन्दोलन हुदैन भनेको के हो ? चिकेन चिल्लि खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो । म उहाँहहरुलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपुर्ण । अब नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्तैन । शान्तिपुर्ण नेपाल रहन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी समेत दोहोराए । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि दाहाल–नेपाल समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उनले स्पष्ट पारे ।
उनले भने ‘काम गर्न दिईएन बिचमा । मैले धेरै पल्ट भने । यो सरकार ५ बर्षका लागि हो, ५ बर्ष चलाऔ । तर उहाँहरु पार्टी फोड्नुपर्छ , केपी ओली हट्नुपर्छ अनि जोडजाम गरेर विभिन्नसंग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ । देशलाई भड्खालोमा हाल्नुपर्छ । त्यसलाई उहाँहरु स्थिरता र स्थायीत्व भन्नुहुन्छ । के त्यो स्थायीत्व हो र ?उहाँहरु जनतालाई धोका दिदै हुनुहुन्छ । आफ्नो स्वार्थ र व्यक्तिगत अहंकार महत्वकांक्षाका लागि सब काम गर्दे हुनुहुन्छ । । जब उहाँहरुले काम गर्न दिनुभएन , लोकतन्त्रलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई ठिक ढंगले चल्न दिनुभएन । संसदलाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्याउनुभयो । काम गर्नै नदिने, काम गर्ने नपाउने अवस्था आएपछि नेपाली जनताका माझ ताजा जनादेशमा जानु पर्यो ।’
प्रधानमन्त्री ओलीले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे । बेलायतको उदाहरण दिदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे ।
संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा दाहाल–नेपाल समूहले बलजफ्ति बहस चलाएर प्रतिगमन भनेको टिप्पणी उनले गरे ।
उनले भने ‘देशव्यापी रुपमा एउटा बहस भईरहेको छ । बलजफ्ति यो बहस निकालिएको छ । संसद विघटनको सिफारिस, संसद विघटन संविधानसम्मत छ कि छैन ? भनेर बहस निकालिएको छ । म भन्न चाहन्छु संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था भयो भने, काम गर्न नपाउने अवस्था भयो भने संसद विघटन गर्छ । बेलायतमा लिखित संविधान छैन । अथवा त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने लेखेको छैन तर प्रधानमन्त्रीले अस्ति भर्रखर संसद विघटन गरेर चुनाव गराउनुभयो । यसरी प्रधानमन्त्रीले संसद विघटन गर्छ काम गर्न दिइएन भने । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, व्यवधान गर्ने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ? त्यस प्रकारको प्रवृत्तिको जवाफ चुनावबाट खोज्नु पर्दछ । जनताको ताजा जनादेशबाट खोज्नु पर्दछ ।’
दाहाल–नेपाल समुहले संबैधानिक नियुक्तिमा अवरोध गरेको दाबी पनि प्रधानमन्त्रीले ओलीले गरे । उनले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरता तर्फ उन्मुख भएको बताए ।
सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए ।
प्रधानमन्त्री ओलीले मुलुभरको कालोपत्रेसडक, चाँदनी दोधारा सिंचाई, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पुर्वपश्चिम रेल लगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेयरिस्त नै प्रस्तुत गरे । उनले कोभिड विरुद्ध खोप अभियान चलेको उल्लेखगर्दै कोभिड अन्त्य नभएसम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit