Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

महाधिवेशन तोकिएकै तालिका अनुसार हुने, तयारी जुटन कांग्रेसको आग्रह 

सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । 

 


बैठकले केन्द्रिय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । ‘जे निर्धारित समयका लागि केन्द्रिय महाधिवेशन निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसीरबाट अलि पछाडि जाने होकि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौं । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रिय समितिमा हामी विधिवत रुपमा जान्छौं ।’

 

 

बैठकले भोली (नौं) गते शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

 


हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रिय निर्वाचन समितिबाट अनूमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए । 

 


बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रिय समितिको बैठक बोलाउने निर्णय पनि काँग्रेसले गरेको छ ।

प्रतिक्रिया

106
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै