
कोरोना संक्रमण कम हुनुको साटो बढ्न थालेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालहरुले आजदेखि अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कारबाही गर्ने तयारी समेत गरेका छन् ।
यसका लागि डीसीसीएमसी बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदै छ ।
सोमबार देशभर कोभिड–१९ संक्रमण पुष्टि र मृत्यु हुनेको संख्या बढेको छ भने निको हुनेको संख्या घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १३ हजार ८११ जनाको स्वाब परीक्षण गर्दा तीन हजार १२५ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार १२ हजार ६३६ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५६८ जनामा कोरोना पुष्टि भएको थियो ।
सोमबार १० हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २७९ र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गर्दा ८४६ जनामा कोरोना देखिएको हो ।
त्यस्तै, सोमबार कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । आइतबार १८ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८९८ पुगेको छ ।
सोमबार देशभर एक हजार ९२५ जना निको भएका छन् । आइतबार दुई हजार २० जना निको भएका थिए । योसँगै सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit