
कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् ।
गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताएकी हुन् ।
मंगलबार मन्त्रालयमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधीको ओसार–पसार, मासु, अण्डा, दुधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्बाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन् ।
अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न ७ प्रदेशका कृषि मन्त्री र सचिवसँग छलफल गर्न लागिएको जानकारी दिइन् ।
यस्तै कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्नसक्ने सहयोग बारे अध्ययन÷छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि उनको भनाइ छ ।
यो कार्यदलले बन्दाबन्दीले किसालाई पर्न गएको असुविधा र क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिने बारे पनि सुझाव दिने मन्त्री अर्यालले बताइन् । कृषि मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको जानकारी दिइन् ।
यस्तै देशका केही कृषि बजारहरुलाई खुला राख्नेगरी तयारी भइरहेको उनको भनाइ छ । अघिल्लो पटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाइ छ । उनले कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरु सँग समन्वय गरेर काम भइरहेको बताइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit