
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हट्नुपर्ला कि भन्ने चिन्ता लागेको बताएका छन् ।
उनले पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै कांग्रेसले औंला छाड्ला कि भनेर उनीहरुले सधैं सँगै जानुपर्छ भन्ने गरेको दाबी समेत गरेका छन् । शुक्रबारबाट काठमाण्डौमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सँगै जानुपर्छ भनेको सरकारमात्रै होकि, देश बनाउन सँगै जाने भनेको हो ? भनी प्रश्न गरेका छन् । त्यस अवसरमा उनले कांग्रेस सभापति देउवालाई सरकारको पनि नेता हुन शुभकामना दिएका छन् ।
देउवा प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुपर्ने उनको भनाइ थियो । उनले नेपाली कांग्रेसलाई अरुका नीतिका पछाडि नभई आफ्नो नीतिमा चलाउन सक्ने बनाउन पनि सो महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर छ । सधैं सुन्छु–सँगै जानु पर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि, देश बनाउन सँगै जाने हो ? देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले नेपाली काँग्रेसको साथमै छ नेकपा एमाले । हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको के संसदको अंग होइनम ? हामी साथमा छैनौं ? लोकतन्त्रको सवालमा । हामीसँगै लडेका छैनौं लोकतन्त्रको सवालमा ? त्यसकारण सरकारमा हट्नुपर्ला भन्ने कतिपयलाई चिन्ता होला । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन । हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अघि बढ्नुपर्छ । नेपाली कांग्रेस सबैलाई साथ लिएर अगाडी चलोस्, मेरो कुनै आपत्ति छैन । तर नेपाली कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा चलोस् । आफ्ना नीतिमा अरुलाई हिँडाओस् । शेरबहादुर जी प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुहोस् भन्ने मेरो शुभकामना छ’ उनले भने ।
उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुकको समृद्धि र विकासका लागि आफ्नो पार्टी नेपाली कांग्रेसलाई साथ दिन सदा तयार रहेको पनि बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउनुपर्छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता निराधार सिद्धान्तको कुरा नगर्न चेतावनी दिएका छन् ।
उनले लिङदेनलाई भर्खर अध्यक्ष भएको रापतापमा नागरिकको स्वाभिमाननै छाडिदिने खालको, नागरिकबाट कोही नेता हुन सक्दैनन् भन्ने खालको अभिव्यक्ति आएपनि केही समयमै ठेगान लाग्ने दाबी पनि गरेका छन् । अध्यक्ष लिङदेनको सो भनाइप्रति व्यंग्य कस्दै उनले भर्खरभर्खर जन्मेको बाछो हिँड्न नजान्ने तर बढि कुद्ने गरेको बताएका छन् ।
‘एउटा आज पनि नेपालका नागरिकले नागरिक स्वाभिमान बिर्सने जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त, अचम्म लाग्छ, जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मानेर कोही जन्मिदै यस्तो शासक भएर जन्मिन्छ भन्ने यस्ता निराधार सिद्धान्त, संयुक्त राष्ट्र संघको मान्यता भन्दा विपरितका सिद्धान्त, खासगरी भन्ने हो भने नागरिक स्वाभिमानको विपरित सिद्धान्त, नागरिक स्वाभिमाननै छोडिदिने ? अनि नागरिकबाट कोही नेता हुन सक्दैन, हरेक नेता चोर हुन्छ यस्ता कुरा बोकेर हिँडने ? हुनत भर्खरभर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरुलाई । त्यस रापतापमा अलिकति भर्खर भर्खरको बाछो हिँडन जान्दैन, बढि कुद्छ क्या । नयाँ नयाँ सभापति भाको, अलिकति रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ’ उनले भने ।
उनले आफ्नो गौरवपूर्ण इतिहासलाई कायम राखेर अघि बढ्न पनि नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit