Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

राजतन्त्रको भविष्य नभएको भन्दै पूर्वराजालाई पार्टी खोल्न माधव नेपालको सुझाव

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । 

 

नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज उद्घाटन समारोहमा बोल्ने क्रममा उनले लोकतन्त्र रक्षाको निम्ति गणतन्त्र नै उत्तम उपाय भएको भन्दै १६ वर्ष अगाडि नै दलहरुले राजतन्त्रलाई पाखा लगाएको बताएका छन् । उनले फेरि प्रतिगामी तत्त्वहरु पहिलेको दिशातर्फ उन्मुख हुन लागेको भन्दै शिर उठाउन दुस्साहस नगर्न चेतावनी दिएका छन् । उनले नेपालमा राजतन्त्रको कुनै भविष्य नरहेका कारण राजाले राम्रो पार्टी खोलेर बस्ने वा व्यापार गर्ने मध्ये एउटा विकल्प चुन्दा राम्रो हुने बताएका छन् । उनले राजतन्त्र वंश परम्परामा आधारित भएका कारण हामीलाई वंशको शासन स्वीकार नभएको पनि बताएका छन् ।

 

‘म संकेत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउले दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढीसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरुन् । नेपाली जनता फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म बिस्फोटको रुपमा अघि बढ्नेछन् । राम्रो के हुन्छ भने राजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली जनताले गर्न सक्दछौँ’ उनले भने ।

 

उनले साँचो लोकतन्त्र चाहनेले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै