Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सत्ता बचाउन जनतामा कोरोना महामारीको आतंक फैलाइयो : कांग्रेस

नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । 

 

आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्न सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए । 

 

‘सरकार कोभिड संक्रमलाई रोकथाम गर्नभन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । जनतामा आतंक फैलाउन खोज्दै छ । २ दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरु गर्दै छ,’ उनले भने, ‘सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासंगै दुर्गम गाउँगाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पछि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्ध गर्ने कोशिस सरकारबाट भइरहेको छ । यसको घोर भत्र्सना गरेका छौं ।’ 

 

कोभिड महामारीलाई कम गर्न सार्थक काम गर्न सरकार केन्द्रित नभएको र कोरोनाकै आडमा आफ्नो सत्ता बचाउनका लागि जनतामा आतंक फैलाउने काममा लागेको उनले आरोप लगाए । 

 

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

 

तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सञ्चार, सामाजिक सञ्जाल, नागरिक समाजमार्फत निरन्तर रुपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुको साथै कानूनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।

 

केही दिनअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगाएतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै