
एमसीसीबारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले प्रारम्भिक छलफल सुरु गरेको छ ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधबारबाट छलफल सुरु गरेको हो । कार्य दलका संयोजक खनालको डल्लुस्थित निवासमा बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्य दलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पु¥याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ ।
‘एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर हामीले छलफल प्रारम्भ गरेका छौं । र आज प्रारम्भिक छलफल भएको छ । छलफल सकारात्मक भएको छ । र केही दिन पछि हामी छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं। र त्यो तपाईहरुमार्फत् सम्पूर्ण देशबासी दाजुभाई तथा दिदीबहिनीहरुमा सुसूचित गर्छौं । यसमा धेरै छलफल भईसकेको छ । अव यसलाई कसरी एउटा निष्कर्षमा पु-याउने, त्यो बाटोमा जाने दिशामा हामी अग्रसर हुर्नुपर्छ’ उनले भने ।
सत्तारुढ पाँच दलले केही दिन अघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता समेत रहेका मन्त्री कार्की सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले एमसीसीबारे धेरै छलफल गरेको उल्लेख गर्दै निष्कर्षमा अग्रसर हुने गरी छलफललाई अघि बढाएको पनि जनाएको छ ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई पारित गरेर जानुपर्ने पक्षमा रहेका छन् भने सत्तासाझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले यथास्थितिमा यसलाई संसदबाट पारित गर्न नहुने धारणा राख्दै आएका छन । यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सत्तारुढ दलहरुको धारणा आएपछि मात्रै एमसीसीबारे आफूहरुले निर्णय लिने बताउँदै आएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit