Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

यी मापदण्ड पुरा गरेका होटलहरुले पाउनेछन् ‘स्टार’ 

ठमेलमा रहेको दलाई ला बुटिक होटल ।

सरकारले सबै स्तरका होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानका लागि संकेत चिह्नको रुपमा तारा (स्टार) चिह्न निर्धारण गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने भएको हो । 


उक्त संकेत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागले जनाएको छ । संकेत चिह्नमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिह्न रहने छ भने सबैभन्दा तल होटलको नाम रहनेछ । 


यस्तो संकेत चिह्न निश्चित साइजको हुने र उक्त चिह्नलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । 


सबैस्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्वारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल÷रिसोर्टको बनोट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिह्न अर्थात प्राप्त गरेको संकेत चिह्न सहितको साइनबोर्ड राख्नुपर्नेछ । 


पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तर वर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘टीएस’ लेखिएको चिह्नलाई संकेत चिह्नको रुपमा निर्धारण गरिने भएको छ । 


यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङमा ‘एम’ र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा ‘आई’ लेखिएको चिह्नलाई संकेत चिह्नको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा ‘बीएण्डबी’ लेखिएको चिह्नलाई संकेत चिह्नको रुपमा निर्धारण गरिने भएको छ ।


पित्तलको प्लेट भएको साइनबोर्ड, जसको साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगीन निशाना छाप, निशान छापको ठीक मुनितिर तोकिएको संख्यामा रहेका रातो रंगका तारा र तारा चिह्नको ठीक मुनितिर कालो रङ्गको तेसै्र धर्का, त्यसको मुनितिर होटल र रिसोर्टको नाम हुनुपर्ने जनाइएको छ ।

 

प्रत्येक होटलले आफूले पाएअनुसारको तारा चिह्न राख्नुपर्ने छ । पाँच तारा डिलक्सस्तरको होटलका लागि पाँच तारा र डिलक्स शब्द, साधारण हेरिटेज बुटिक होटलका लागि तीन तारा र स्याण्डर्ड हेरिटेज बुटिक शब्द, डिलक्स हेरिटेज बुटिक होटलका लागि चार तारा र डिलक्स हेरिटेज बुटिक शब्द राख्नपर्ने भएको छ ।

 

यस्तै, लक्जरी हेरिटेज बुटिक होटलका लागि पाँच तारा र लक्जरी हेरिटेज बुटिक शब्द, साधारण रिसोर्टको लागि तीन तारा र स्याण्डर्ड रिसोर्ट शब्द, डिलक्स रिसोर्टको लागि चार तारा र डिलक्स रिसोर्ट शब्द राख्नुपर्ने जनाइएको छ । लक्जरी रिसोर्टको लागि पाँच तारा र लक्जरी रिसोर्ट शब्द राख्नपर्ने भएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै