Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

तिलोत्तमाका जनप्रतिनिधिको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।     

 

नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।     

 

नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् । छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना सङ्क्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए ।

 

आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे ।     

 

कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन् । संक्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपु¥याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उनीहरुको भनाइ छ ।     

 

नगरपालिकामा रहेका एम्बुलेन्स र एम्बुलेन्सको रुपमा प्रयोग हुने थप दुई सवारी साधन स्वास्थ्य शाखामार्फत परिचालित हुनेछन् ।     

 

नगरपालिकाले शंकरनगरमा ४० शय्या क्षमताको सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सेवा दिने गरी आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । यस्तै वडा नं ९ मा रहेको सभाहलमा थप ६० शय्याको आइसोलेशन बनाउने गरी काम अघि बढाइएको छ ।    
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै