
सरकारले विदेश जाने यात्रुलाई कोभिड–१९ संक्रमण नभएको नक्कली प्रमाणपत्र (पीसीआर) दिएको आरोपमा अनुसन्धानमा तानिएको ह्याम्स हस्पिटलले फेरि नक्कली पीसीआर रिपोर्ट दिएको भेटिएको छ ।
प्रहरीले मंगलबार (६माघ २०७७) मा फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाट दुबई हिंडेका यात्रुका साथमा ह्याम्स अस्पतालले जारी गरेको नक्कली पीसीआर रिपोर्ट फेला पारेको हो । विमानस्थल स्रोतका अनुसार बाराको बारागढी–५ घर भएका सुदीप चौधरीका साथबाट नक्कली पीसीआर रिपोर्ट बरामद भएको हो ।
उनलाई विमानस्थल प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ ।
यसअघि पनि १९ पुस २०७७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ मा दुबई जान लागेका सात जनालाई जाँच्ने क्रममा पीसीआर नक्कली भएको पाइएपछि प्रहरीले पक्रेको थियो।
पक्राउ पर्नेहरुमा सल्यानका दिनेश सिंह, धुनषाका नारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ हुन् ।
सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टर र ह्याम्स अस्पतालबाट जारी भएका नक्कली पीसीआर रिपोर्ट बनाएर उनीहरु दुबई जान लागेका थिए ।
ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिपोर्ट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेर अनुसन्धान समिति समेत बनेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २८ कात्तिक २०७७ मा पत्र लेख्दै काठमाडौंमा विभिन्न प्रयोगशालाहरुले स्वाब कलेक्सन नै नगरी नक्कली रिपोर्ट दिने गरेकोले अनुसन्धान गर्न
निर्देशन दिएको थियो ।
मन्त्रालयका प्राविधिक अधिकृत नशिब आचार्यले लेखेको पत्रमा प्रयोगशाला र पीसीआर जाँचको अनुमति पाएका अस्पतालहरुले स्वाब कलेक्सन पश्चात पनि रिपोर्ट म्यानुपुलेसन गरी पोजिटिभ रिर्पोट दिने गरेको र स्वाब कलेक्सन पश्चात निर्धारित समय सम्म भण्डारण गरेर राख्नुपर्नेमा सो समेत नगरेकोले आवश्यक अनुसन्धान गरि कारबाही गर्न भनेको हो ।
मन्त्रालयले नेपाल वायुसेवा निगमका हरेक नियमित उडानमा नेपाल सरकारबाट स्वीकृति प्राप्त प्रयोगशालामा परीक्षण गरेर नेगेटिभ आरटी पीसीआर साथमा लिएर गएका यात्रुहरु मध्ये निगमको २ अक्टोबर २०२० का दिन सञ्चालन भएको काठमाडौं(हडकड नियमित उडानमा हङकङ स्वास्थ्य विभागबाट पुनः कोभिड–१९ परीक्षण गरेकोमा ५ जनामा पोजेटिभ देखिएको जनाएको छ ।
यस्तै १९ अक्टोबर, २०२० मा संचालित काठमाडौं-हङकङ उडानमा ९ जना यात्रुहरुमा पुनः कोभिड–१९ पोजेटिभ देखिएको कारण उल्लेख गर्दै सिभिल एभिएसन डिर्पाटमेन्ट हङकङबाट ०४ देखि १७ अक्टोबर ,२०२० तथा दोस्रो पटक २२ अक्टोबर,२०२० बाट ०४ नोभेम्बर, २०२० सम्मका लागि र १२ नोभेम्बर २०२० देखि २५ नोभेम्बर २०२० सम्म निगमको काठमाडौं(हङकङ उडानको अवतरण अनुमति स्थगन भएको मन्त्रालयले जनाएको छ ।
निगमको काठमाडौं–दुबई नियमित उडानबाट समेत आरटी पीसीआर परिक्षण नेगेटिभ भएको रिपोर्टका आधारमा यात्रा गर्ने यात्रुहरुको पुन परीक्षण गर्दा केही यात्रुहरुको कोभिड–१९ रिर्पोट पोजेटिभ देखिएकोले नेपाल वायुसेवा निगमलाई संयुक्त अरब इमिरेटसको सिभिल एभिएसनका महानिर्देशकले पत्राचार गरेका थिए ।
यस्तै निगमको काठमाडौं–नारिता नियमित उडानबाट समेत यात्रा गर्ने यात्रुहरुको पुनः परीक्षण गर्दा हरेक उडानमा कम्तिमा २ देखि १० जनामा कोभिड–१९ पोजेटिभ देखिएको हुनाले इन्टरनेशनल एयर कार्गो टर्मिनलबाट पनि ईमेल मार्फत निगमलाई जानकारी प्राप्त भएपछि मन्त्रालयले एक्सन लिएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit