Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

बिजनेशविहीन संसद : सरकार अनिच्छुक, प्रतिपक्षी निष्क्रिय


प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेश नदिँदा संसद् बैठक औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा बिजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ । 

 

संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरु परिपूरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि अधिवेशन बोलाइए पनि विजनेश पाएको छैन ।

 

संसदलाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ । सरकारले बिजनेश छैन भनिरहँदा प्रतिनिधिसभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि बिजनेश हुने देखिन्छ । 

 

प्रतिनिधिसभामा ३६ वटा विचाराधीन विधेयकहरुमध्ये ४ वटा विधेयक प्रतिनिधि सभामा पेश भएकाले अगाडि बढाउन सकिने संघीय संसदका सह–प्रवक्ता दशरथ धमलाले बताए । सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरुलाई पनि अगाडी बढाउन सकिने प्रवक्ता धमलाले बताए ।

 

यता प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरु अहिलेसम्म (एकवटा बाहेक) पेश भएका छैनन् । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ । कांग्रेस लगायतका दलले विरोध गरेको अध्यादेश संसद बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा बिरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश भएका छैनन् ।

 

संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्ने बारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाले बताए ।

 

सत्तारुढ दलभित्रको अन्तरकलह र विपक्षी दलको निस्क्रियताले संघीय संसदको दुवै सदन कामविहीन बनेका छन् । प्रतिनिधि सभाले विजनेश नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद बैठकमा पेश नभई निस्क्रिय बन्ने देखिन्छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै