
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेका प्रतिवेदन स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको छ ।
सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गरेका दुवै प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संकट निवारणका निम्ति अहिले सम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
उनले पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने निर्णय भएको बताए ।
प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बस्नुभन्दा अगाडि अध्यक्षद्धय बीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताए ।
सचिवालय बैठकमा पार्टीको संकट निवारणका लागि छलफल भएपनि आजै निष्कर्षमा पुग्ने सम्भावना नभएकोले स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको हो ।
स्थायी कमिटीको बैठक चलिरहदा आवस्यक परेमा अध्यक्षद्धय बीच र सचिवायलको औपचारिक तथा अनौपचारिक बैठक समेत बसेर छलफललाई अगाडि बढाउन सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit