Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सेयर बजार अहिलेसम्ममै उच्च अंकमा, ६ अर्ब ३४ करोडको कारोबार


आइतबार शेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । 

 

 

यो अंक अहिलेसम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात् १७ दशमलव १८ अंकले बढेर ४ सय १५ दशमलव ८८ अंकमा बन्द भएको छ ।

 

दिनभर २ सय १२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर खरिदविक्री भएको छ । सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका शेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात ५ दशमलव ८२ अंकले बढेर १ सय ४७ दशमलव ७४ अंकमा बन्द भएको छ । 

 

यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात ५ दशमलव ०७ अंकले बढेर १ सय ३२ दशमलव ९७ अंकमा बन्द भएको छ ।

 

 

बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा शेयरको माग बढेको छ । अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ । बैंक ब्याजदर पनि सस्तो भएको छ ।

 

 

बजार निरन्तर बढ्दै जाने र शेयर खरिदका लागि कम ब्याजदरमा सहजै बैंकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले शेयरको माग बढाएको देखिन्छ । 

 

 

यस्तै कोभिड–१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश शेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन शेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ ।

 

 

आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९.६४ प्रतिशतले बढेको छ । त्यसपछि अन्य समूह ६.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.८६ प्रतिशत, बैंकिङ समूह ४.४७ प्रतिशत, जीवन बीमा समूह ४.०९ प्रतिशत, निर्जीवन बीमा समूह २.८४ प्रतिशत, जलविद्युत समूह २.४६ प्रतिशत, लघुवित्त समूह २.३६ प्रतिशत, विकास बैंक समूह २.१६ प्रतिशत, होटल समूह १.८५ प्रतिशत, फाइनान्स समूह शुन्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव २१ प्रतिशतले बढेको छ ।

 

 

आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल दूरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ हजार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

 

आज हिमालयन डिस्टिलरीका शेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै ९ प्रतिशतभन्दा माथि कमाउने कम्पनीका शेयरधनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।

 

 

बजारमा उच्च वृद्धि भए पनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै