
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको दाबी गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले सरकारले राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरेको निष्कर्ष निकालेको बताएका हुन्। यस्तै कर्मचारीतन्त्रलाई आतङ्कमा बाँच्न बाध्य पारिएको र उनीहरुको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोशिस भएको उनको बुझाई थियो ।
उनले भने ‘हिजो मात्रै हामी संसद भित्र भएका तीनवटा प्रमुख दलहरुको बैठक बस्दै थियौं । सरकारको बारेमा कुरा गर्न तपाईहरुलाई थाहा छ । त्यहाँ सबैको एउटा कुरामा सहमति देखा प¥यो । अहिलेको सरकारले कर्मचारी तन्त्रलाई आतङ्कमा बाच्न बाध्य पार्न थालेको छ । राज्यका सबै अङ्गहरुलाई सन्त्रासमा राख्ने र कब्जा गर्ने कोसिस गरिएको छ, उनीहरुको वृति विकास उनीहरुको स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको छ । राज्यका सबै अङ्गहरुमाथि जबरजस्ती कब्जा जमाउने सडयन्त्र शुरु भएको छ भन्नेकुरामा सबैको सहमति देखियो त्यहाँ । त्यो आफैमा एउटा ठूलो बिडम्बनाको स्थिति हो ।’
सरकारले कानून अनुसार हुनै नसक्ने र हुनै नहुने कामहरु गरिरहेको पनि अध्यक्ष प्रचण्डले बताए । सरकार अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक काम गर्न तर्फ उन्मुख भइराखेकोले देशमा निकै ठूलो अन्यौल र सन्त्रास उब्जिएको उनले भने ।
‘अहिले हामी हे¥यौं भने दिन दिनै जस्तो के संविधान, के ऐन कानून, नियम सबैलाई मिच्दै जबरजस्ती राज्य सत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ अहिले । हुनै नसक्ने र हुनै नहुने कुराहरु भइराखेका छन् । जे आधिकारीक हो, जे बैधानिक हो, जे संवैधानिक हो, जे बिधिसम्मत हो त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ । जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुराहरु त्यसलाई पच्छ्याइएको छ सरकारबाट यही सबैचिज अहिले देशमा निकै ठूलो अन्योल र सन्त्रास छ,’ प्रचण्डले भने ।’
अध्यक्ष प्रचण्डले सरकारले संविधानलाई मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उनले बताए ।
उनले भने ‘साँच्चै संविधानलाई मिच्ने नै कोसिस जारी रहयो यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुस र स्वेच्छाचारी ढङ्गले नै जाने कोसिस भयो भने एउटा अर्को नयाँ खालको विद्रोहमा हामी सङ्गठित हुनुपर्ने, विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ ।’
तर विद्रोहमा जानु अगाडी नयाँ सरकार गठन गरेर सोही सरकार मार्फत अहिले भइराखेका ज्यादतिहरुलाई सच्याउन चाहेको पनि उनले प्रष्ट पारे। संविधान नमान्ने सरकार हटाइनुपर्ने उनको तर्क थियो ।
‘हामी त्यो परिस्थिति आउनु भन्दा अगाडि नै नयाँ सरकार गठन गरेर त्यो सरकार मार्फत यो बिचमा भएका ज्यादतिहरुलाई सच्याउन चाहन्छौं, उनले भने ।’
सरकारले संसदीय समितिबाट पारित भएका ऐनहरुलाई अगाडी बढाउन नचाहँदा कतिपय ऐनहरु बन्न नसकेको पनि अध्यक्ष प्रचण्डले बताए । निजामती कर्मचारी ऐन पनि प्रधानमन्त्री लै नै रोकेका कारण संसदमा आउन नसकेको प्रचण्डको दाबी थियो ।
अध्यक्ष प्रचण्डले यो सरकार अब धेरैदिन नचल्ने र नयाँ सरकार बनेपछि कर्मचारीका मागहरुको सम्बन्धमा साथ समर्थन र सहयोग रहने पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit