Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारीमा वाग्मती प्रदेश, विधेयक छलफलका लागि समितिमा 

वाग्मती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । वाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा प्रदेशसभामा गत पौष २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । 

 


नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने निर्णय गरेको हो । प्रदेशसभाको बैठकमा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले उक्त विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए । 

 


कानून मन्त्री खनालको प्रस्तावलाई प्रदेश सभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो । त्यस्तै बैठकले प्रदेश विपद् व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समिति पठाएको छ । 

 

प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत भएको घोषणा प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।  

 

त्यस्तै, वागमती प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेकोे घोषणा गरे । 

 

उनले प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मत स्वीकृत भएको पनि घोषणा गरे । प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

 

यसैबीच न्युज एजेन्सी नेपालसँग गरेको कुराकानीमा वाग्मती सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले पाएको अधिकारलाई सदुपयोग गरेर वाग्मती सरकारले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउन लागेको बताए । उनले दफाबार छलफलपछि मात्रै व्यवस्थित गरिने बताए । मन्त्री खनालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन पास गरेपनि प्रदेशमा प्रहरी समायोजन हुन नसकेको गुनासो समेत गरे । 

 

गृहमन्त्री शर्माले भने, ‘यो दर्ता भएको एक हप्ताजति भयो । आज त्यसलाई दफाबार छलफलका लागि पठाएका छौँ । तीन तहको सरकारको परिभाषा संविधानले गरेको छ । त्यसमध्येको यो प्रदेश सरकार हो । यसको आफ्नै सुरक्षा, संयन्त्रहरु त्यसलाई व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन । हामीले प्रदेश प्रहरी ऐन पास गरेका छौँ । तर त्यो अहिलेसम्म पनि प्रदेशमा प्रहरी समायोजन हुन सकिरहेको छैन । यो हामीले बनाउन पाउने अधिकारको कुरा हो । यसलाई आफ्नै अनुसन्धान ब्यूरो, यसको स्थापना,काम, कर्तव्य र अधिकारलाई परिभाषित गरेर आफ्नै नियनत्रणमा रहनेगरी, आफ्नै सुरक्षा संयन्त्र रहने गरी आफ्नै ब्यूरो हुने गरी यसको व्यवस्थापन हामीले गरेका छौँ । यो अधिकारमा पाएको कुरा माथि सोधिरहनु पर्ने, माथिको मुख ताक्नुपर्ने त्यस्तो अवस्था होइन । यो अब दफाबार छलफलमा गएको छ । संशोधनहरु पनि परेका छन् । यसमा छलफल गरेपछि हामीले पहिलोपटक आफ्नै मातहतमा रहनेगरी सुरक्षासँग सम्बन्धित सूचना ब्यूरो बनाउँदै छौँ र यसलाई धेरै छलफल गरेर व्यवस्थित गरेर हामी काम गर्छौं ।’

 

मन्त्री खनालले संघीय सरकारको मुख ताक्दा धेरै कामहरु प्रदेश सरकारमा हुन ढिलाइ भइरहेको पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै