
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।
आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् ।
तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ थियो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । आफूहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि धारणा राखे ।
‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्नेकुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौं,’ उनले भने ।
सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद पुनस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit