Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सत्ता गठबन्धनमाथि ओलीको ‘हमला’, लगाए यस्ता ३ आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् । 

 

विशेषगरी ओलीले गठबन्धनलाई प्रतिगमनकारी भएको, देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको र मुलुकलाई अराजकतातर्फ धकेलिरहेको तीन आरोप लगाए । 

 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पु¥याउने प्रयास गरिरहेको आरोप समेत लगाए । 

 

शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्दै उनले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दाबी समेत गर्नु भयो । 

 

उनले सत्तारुढ पाँच दलीय गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पारेर प्रतिगामी शक्तिहरुको सेवा गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

 

‘प्रतिगामी शक्तिहरु देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन । यो ३ महिनाको अवधिमा देखि सकियो–देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरु हामीले देखिराखेका छौ र यो विपरित बाटो हो । यो प्रतिगमनतर्फको बाटो हो,’ ओलीले भने ।

 

‘संविधानको कार्यान्वयनको सन्दर्भमा, राजनीति परिचालनको सन्दर्भमा, जनतामा रहेको सार्वभौमसत्ता, त्यसको अपब्याख्या गरेर अन्तै सार्न खोज्ने प्रयासको सन्दर्भमा अहिले भएका र भईरहेका गतिविधिहरु प्रतिगामी गतिविधिहरु हुन । र त्यस्ता प्रतिगामी गतिविधिहरुविरुद्ध जसको नेतृत्व यो गठबन्धन पाँच दलीय भन्ने गरेको छ, त्यो पाँच दलीय भनिएको गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो,’ उनले भने ।

 

गठबन्धनले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने, कम्युनिष्ट सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन फुटाउने, र प्रतिक्रियावादीहरुको पाउमा सेवा अर्पण गर्ने र दक्षिणपन्थी नेतृत्वको दक्षिणपन्थी जनविरोधी, दिशाहीन त्यस्तो सरकार निर्माण गर्ने जुन काम गरिरहेको पनि उनले आरोप लगाए ।

 

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए । 

 

उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । 

 

‘हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अब एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरु चलाइए । तर म कमरेडहरुलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेसीका पानीका फोका हुन, तिनका आयु लामो छैन,’ उनले भने ।

 

अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबी समेत गरे । माधव नेपाल समेत बाहिरिएपछि पार्टी एकतावद्ध रहेको उनको भनाई थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै