Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

संसद भवन पुगेका झलनाथ खनालले भने, ‘हामी संसदको बैठक चलाउछौं’ 

नेकपाका बरिष्ठ नेता तथा सांसद झलनाथ खनाल । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् । 


संसद भवन सोमबार  नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरुले संसद विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् । 

 

नेकपाका बरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद बैठकका लागि संवैधानिक अभियान चलाउने बताए । 

 

उनले भने,  ‘वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध कु गरिएको छ । हामी सर्वोच्च नी जान्छौँ । संसदको बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’

 

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफु अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान बिरोधी निर्णय लिएको बताए । उनले संसद विघटन भएको नठानिएको प्रतिक्रिया दिए । 

 

‘प्रतिनिधि सभा बिघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । उहाँ अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरंकुश तरिका अबलम्बन गरिएकोले घोर बिरोध एवं भत्र्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ, उनले भने ।’

 

सांसद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद विघटनको विपक्षमा रहेको बताइन् । 

 

संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । 

 

‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनैपनि धारामा विघटन बारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अबलम्बन गर्छौ । न्यायपालिका तर्फ हामीलाई विश्वास छ , भुसालले भनिन्।’

 

सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको दाबी गर्दै भनिन,  ‘संविधान माथिको कु हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’

 

नेकपाका प्रचण्ड–माधव नेपाल समुहका सांसदहरुको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन माग समेत गरेको छ । बैठक नबोलाइए कानूनी प्रक्रिया अघि बढाईने पनि सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै