
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाईप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिल्कलै झूट बोलेको दावी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिए ।
बुधबार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उनले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसायनै फरक रहेको दावी समेत गरे ।
आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो ।
उनले भने, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ । एकजना भित्रले भन्नु भयो– पहिलेको र अहिलको उस्तै हो भनेर– कोही नअलमलिनु होला भनेर । पहिलेको र अहिलको अध्यादेश उसै प्रयोजनका लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन । कानुनी हिसावमा उस्तै होइन् यो फरक छ । तर उहाँले साफ झुट बोल्नु भो, देशका अगाडि बेईमानीपुर्ण कुरा गर्नु भयो । उहाँले चाँही देशका लागि । नेकपा एमाले पार्टी फुटाउन लागेको देशका लागि ? सत्ताले यस्तो, सरकारले राजनीतिक पार्टी भित्र बदनियतका साथ हात हालेर अनुचित ढंगले कानुन निर्माण गरेर, अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक कार्य हो, यो नैतिक कार्य होईन । यो बिलकुलै अनैतिक कार्य हो । त्यसकारण यस्तो अनुचित कार्य उचित होइन । देश जोगाउनका लागि अध्यादेश । यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउथ्यो । यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो यो देश खर्तक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने ? देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि । देश जोगाउनका लागि यो अध्यादेश । यो बितण्डा, असंवैधानिक क्रियाकलाप, यो अनैतिक कार्य नहुँदा देश जोगिदैन ? यो विल्कुल गलत परिभाषा हो, गलत व्याख्या हो । यस्ता गलत ब्याख्यामा हामी कोही पनि पर्नु हुँदैन भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दावी समेत गरे । आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दावी गर्दै वर्तमान सरकार आफैले विकास निर्माणको काम ठप्प पारेको बताए ।
अध्यक्ष ओलीले दीर्घकालीन खालका आयोजनाहरुको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे । उनले मेलम्ची खानेपानीको आयोजना आगामी बैशाख भित्र काठमाडौं ल्याउने कुरा गरेपनि सरकारले सोही अनुसारको काम अघि बढाउन नसकेको पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले भने, ‘हिजो सरकारलाई काम गर्न दिईएन । काम गर्न पाएन धेरै । अहिलेको सरकार कामै गर्दैन । नकाम मात्रै गर्छ । भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ । दिर्घकालीन आयोजनाहरु रोक्नु भनेर सरकारले परिपत्र गरेको छ । पुनर्निर्माण प्राधिकरणले काम गर्दै थियो । त्यसका ईन्जिनियरहरुलाई तलवको समेत व्यवस्था गरिएको छैन । पुनर्निर्माणको काम जहाँ पुगेकोछ, त्यही ठप्प छ । विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरु मात्रै चालु छन । अरु नयाँ कामहरु हुनेवाला छैन । ठेक्का लाग्ने वाला पनि छैन । मेलम्चीको पानी बैशाखसम्म काठमाडौं आउने भनिएको छ । तर त्यो पानी पनि आउने वाला छैन । किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो ।’
अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारबाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना गरे । उनले पार्टीले निश्कासन गरेका आफ्ना सांसदहरुको मुद्दा विचाराधिन छ भनेर सभामुख सापकोटाले राजनीतिलाई गिजोल्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको अध्यक्ष ओलीको दावी छ ।
उनले सभामुख सापकोटाका पछिल्ला गतिविधि खेदजनक रहेको औंल्याउँदै भने, ‘निर्वाचन आयोगलाई संसद सचिवालयले गत १ गते एमालेबाट १४ जना सांसदलाई निस्काशन गरिएको पत्र आएको र त्यो विचारधिन रहेको बताएको छ । कारबाही गरिएका व्यक्तिहरुले लिष्ट समेत निर्वाचन आयोगमा पठाउँछ । त्यो भन्दा बेईमानी के हुन्छ ? सभामुखले पक्षधरताका साथ राजनीतिमा हात हाल्ने, गिजोल्ने काम यो भन्दा बढि के हुन्छ ? यो अत्यन्तै दुःखद् कुरो हो । म यसमा खेद व्यक्त गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले लोकतन्त्रका लागि लडेका प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा व्यक्तिका लागि कानुन बनाउने जस्तो काम गरेकोमा आफू आश्चर्य चकित भएको टिप्पणी समेत गरे ।
अध्यक्ष ओलीले भने, ‘एउटा व्यक्तिलाई सजिलो बनाउनका लागि कानुन निर्माण गर्दै जाने ? एउटा पार्टी फुटाएर प्रतिपक्षलाई कमजोर पार्न रातारात षडयन्त्रपूर्ण खेल खेल्न पाईदैन । जो अहिलेको सरकारले खेल्यो । शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जस्तो लोकतान्त्रिक आन्दोलनमा लामो समय बिताएको मान्छेले लोकतान्त्रिक मूल्यमान्यता छाडेर जे काम गरिएको छ, त्यसप्रति म आश्चर्य चकित भएको छु ।’
अध्यक्ष ओलीले देश र जनताका लागि आवश्यक पर्दा मात्रै अध्यादेश ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेपनि वर्तमान सरकारले त्यस विपरित काम गरेको पटक पटक दोहोराएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit