
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताएका छन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको पनि स्पष्ट पारेका छन् । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको पनि बताएका छन् । उनले व्यवहारबाटै नयाँ पुस्तालाई दश वर्ष भित्र धनी बनाउन सबैले समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने बताएका छन् ।
‘निजी क्षेत्र, जसले मुलुकको आर्थिक गतिविधिलाई अगाडि बढाउनका निमित्त, मुलुकलाई समृद्धिको दिशामा लैजानका निमित्त जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यो क्षेत्रसँग अपेक्षा पनि गरेको छ । म चाहन्छु– अवको आउने पुस्तालाई धनी पुस्ता बनाउनका निमित्त हामी सबै एकजुट भएर लागौं । र हामी सबै एकजुट भएर लाग्यौं भने १० वर्षमा दस्तावेजमा होईन्, कार्यक्रममा, भाषणमा होईन । हामी व्यवहारमा दश वर्षमा विदेश जाँदाखेरी आत्माग्लानी हुनुनपर्ने पुस्ताको रुपमा विकसित गर्न चाहन्छौं । त्यो दिशामा हामी अग्रसर होऊ । र अव हामी सबैको लक्ष्य हुनुपर्दछ । र हामी सबैको एउटै कदम हुनुपर्दछ । त्यो कदम देशको समृद्धिका निमित्त हुनुपर्दछ । र त्यसका निमित्त नेपाल चेम्बर अफ कमर्सले जुन योगदान पु-याएको छ । आगामी दिनमा अरु थप कामहरु गरेर अरु महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस्’ उनले भने ।
उनले मुलुकलाई समृद्ध बनाउन नेपाल चेम्बर अफ कमर्सले मुलुकको समृद्धिका लागि थप योगदान दिने विश्वास समेत व्यक्त गरेका छन् । कार्यक्रममा उनले नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष पुगेको अवसरमा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit