
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् ।
शुक्रबार काठमाण्डौमा आयोजित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् । उनले जनताको हीत र कल्याणको लागि सुकुम्बासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताएका छन् ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनका बिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताएका छन् । उनले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताएका छन् ।
‘जनताको हीत र कल्याणको लागि धेरै लोकप्रिय कार्यक्रमहरु पनि अघि सारेका छौँ । सुकुम्वासीको समस्या भनौँ, समावेशिताको राजनीतिका कुरा गरौँ, समाजवादको यात्राका कुरा गरौँ, यी सबै हाम्रा सकारात्मक कुराहरु पनि छन् । अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाबिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलनहरु,मजदुर, किसान, श्रमजीवि जनतादेखि लिएर युवा, विद्यार्थीहरु, यी सबैले आ–आफ्नो ठाउँमा मोर्चामा सञ्चालित गर्दै अघि बढीरहेका छन् । अहिले हामी जुन राजनीतिक यात्रामा अघि बढेका छौँ, त्यो राजनीतिक यात्रालाई हामीले भनेका छौँ, जनतादेखि जनतासम्म’ उनले भने ।
‘कसै कसैले त्यसलाई भन्ने गर्दछन्, चुनावदेखि चुनावसम्म । हामी भन्दैनौँ, किनभने हाम्रो उद्देश्य भनेको चुनाव होइन, हाम्रो लक्ष्य भनेको चुनाव होइन, हाम्रो उद्देश्य, लक्ष्य जनता हुन् । जनताका समस्याहरु हुन्, जनताका पीर मर्काहरु हुन् । युवाले भोग्नुपरेका समस्याहरु हुन् । नयाँ पुस्ताले, पुरानो पुस्ताले, आम जनताले मजदुर, किसानले, निम्न पूँजिपति वर्गले, मध्यम वर्गले, यी सबै समुदायले, समाजका विभिन्न वर्ग र तहका वर्गले भोगिरहेका समस्याहरुलाई हामी आफ्नो समस्याको रुपमा लिने गरेका छौँ’ उनले भने ।
उनले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit