Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेविसंको महाधिवेशन गराउन विद्यार्थी नेताको दबाब

कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दबाब दिन सुरु गरेका छन् । 

 

 

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन् । नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दबाब दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताएका छन् । 

 

 

त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दवाव दिँदै पार्टीका केन्द्रिय सदस्य एवम् नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र पनि बुझाएका छन् । अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोध पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि जोशीले बताएका छन् ।

 

 

यता, सो पत्र बुझ्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिबद्धता जनाएका छन् । उनले पार्टी पदाधिकारीहरुसमेत भातृ संस्थाहरुको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरुमाथि दबाब दिन नेविसंघमा आबद्ध विद्यार्थीहरुलाई आग्रह गरेका छन् । 

 

 

‘मैले पार्टीमा अनौपचारिक रुपमा तदर्थ समिति बनाएर नेविसंघलगायतका सबै भातृ संस्थाहरुको महाधिवेशन छिटो गरौं भनेर दवाव दिँदै आएको छु । तर पार्टी पदाधिकारीहरुले नै त्यसलाई गम्भिर रुपमा नलिएको अवस्था छ । त्यसैले म साथीहरुलाई नै आग्रह गर्न चाहन्छु । पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई महाधिवेशन छिटो सम्पन्न गराउन तपाईहरुले जर्बजस्त रुपमा दबाब दिनुहोस् । त्यसका लागि मैले आगामी केन्द्रिय समितिको पार्टीको बैठकमा औपचारिक रुपमै छलफल गराउन पहल गर्नेछु’ उनले भने ।

 

 

पार्टीको विधान र संघीयताको भावना अनुसार कांग्रेस भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्वीकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेका छन् । जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आबद्ध विद्यार्थीहरुको माग रहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै