Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

एमाले, कांग्रेस र माओवादी नैतिक हिसाबले नभई आकारले मात्रै ठूला हुन् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडी मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् ।

 

 

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाण्डौमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडी मुख देखाउन लायक नभएको बताएका छन् । राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो  भएको उनले बताएका छन् । उनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताएका छन् ।

 

 

‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठुलो पार्टी भन्छन् । उनीहरु जनताको बिचमा गएर मुख देखाउन लायक छैनन् । उनीहरु सँग कुनै आधार नै छैन । खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठुलो पार्टी हुने मौका पाए । उनीहरु आकारको हिसाबले ठुलो पार्टी भएकाले उनीहरुलाई पहिलो, दोस्रो, तेस्रो पार्टी भनिन्छ’ उनले भने ।

 

 

‘फेरी दोहो-याएर भन्छु, नैतिक रुपले, राजनीतिक रुपले उनीहरु जनताको अगाडी मुख देखाउन लायक छैनन् । यस्तो बेला देशलाई शिरमा बोकेर, धर्मलाई शिरमा बोकेर हिड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताले खोजिराखेको पार्टीको रुपमा छ । हाम्रो तर्फबाट, नेतृत्वको तर्फबाट कुनैपनि प्रकारको कमी, कमजोरीहरु हुँदैन । तपाईहरुको शिर झुक्ने खालको कुनैपनि क्रियाकलाप हाम्रो तर्फबाट हुँदैन’ उनले भने ।

 

 

उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा आउन आव्हान गरेका छन् । राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो । विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मेवारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै