
निर्वाचन आयोगले सरकारी गाडी लिएर काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टिकरण सोधेको छ ।
निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन् ।
त्यस्तै आयोगले मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न पनि रोक लगाएको छ । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता पौडेलले बताए ।
आयोगले कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।
निर्वाचन आयोगले चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिता विपरित भूमिको निस्सा बाँडने काम गरेको भन्दै राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले त्यसो गरेको भन्दै ३ दिन भित्र आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
त्यसैगरी आयोगलाई स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने मितिसम्म भूमि निस्सा वितरण गर्ने कार्य स्थगित गर्न पनि निर्देशन दिइएको प्रवक्ता पौडेलले बताए ।
निर्वाचन आयोगले निर्वाचनको मिति बैशाख ३० गते भन्दा अघि बैशाख २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्न पनि सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit