
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए ।
बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल(नेकपा) एमालेले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताए । संघीय संसदको दुवै सदनमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु थन्किएको भन्दै उनले अहिले संसदको बैठक आवश्यकता रहेकाले आवश्यकताको महसुस गर्दै आगामी दिनमा बैठकमा उपस्थिति हुने विश्वास व्यक्त गरेको पनि उल्लेख गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले आयोजना गरेको बैठकमा पनि उहाँहरु अनुपस्थित हुनुभएको छ । यसले उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । जुनकुरा अहिले मुलुकको आवश्यकता भन्दा भिन्न छ । र
आज संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलका नेताहरुको उपस्थिति थियो । र यो उपस्थितिमा सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ, उहाँ आज अनुपस्थित भएपनि फेरी फेरी पनि म उहाँलाई आमन्त्रण गर्छु । उहाँ आउनुहुनेछ र आफ्नो कुरा राख्नुहुनेछ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । आजको बैठकको निचोड के छ भनिदेखि संघीय संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडी बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र खासगरी यसका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भुमिका निर्वाह गरोस् भन्ने आजको आग्रह छ । र अहिले संसदमा प्रतिनिधि सभामा ३३ वटा विधेयकहरु छन् । जुन विधेयक नेपाली जनताका दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु हुन् । त्यस्तै गरेर राष्ट्रिय सभामा २७ वटा विधेयकहरु छन् । अहिले यि विधेयकहरु अन्योलको अवस्थामा छन् । यस किसिमको परिस्थितिमा अहिले संघीय संसदको बैठक आवश्यक छ र यो आवश्यकतालाई महसुस गरेर आगामी हुने बैठकहरुमा उहाँहरुको उपस्थिति होला भन्ने विश्वास हामीले लिएका छौँ ।’
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग सम्वाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit