
केवल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश व्यक्त गरेका छन् । घिसिङले दम्भ बढेका कारण आफूहरुलाई मारमा पार्ने नीति ल्याएको उनीहरुले आरोप लगाएका छन् ।
बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले यस्तो आरोप लगाएका हुन् ।
घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उनमा दम्भ बढेको व्यवसायीले बताएका थिए । व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए । सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरुले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।
व्यवसायीहरुले व्यवसायी मैत्री र उपभोक्ता मैत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी विरोध आउने किसिमका नीति ल्याएको बताए । उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए ।
राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरुलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको आँैल्याएका छन् । विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरुले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रसारण नहुने बताए ।
विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् ।
केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित भएका छन् । उनीहरुले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit