Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ग्रील र स्टीलजन्य फलामको मूल्य ६० प्रतिशत बढ्यो

ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन् । व्यवसायीहरुले पछिल्लो दुई महिनामा मात्रै ग्रीलजन्य फलामको मूल्य प्रतिकिलो ६० प्रतिशत भन्दा धेरैले बढेको बताएका हुन् ।

 

व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्यधिक, अनियन्त्रित र अस्वाभाविक रुपमा बढेको बताएका हुन् । जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

 

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड १९ को कारण बन्द भई मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामग्रीको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए ।

 

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उनको भनाइ छ । केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए ।

 

ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढ्दा कोरोनाको संक्रमणका कारण प्रभावित आम उपभोक्ता समेत मारमा परेको अध्यक्ष कटुवालले बताए । उनका अनुसार देशभरि सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा देखिएका छन् । 

 

त्यसो भए करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख ब्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए । उनले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धिको अनुगमन गरी उचित कारबाही चलाउन सरकारको ध्यानाकर्षण समेत गराए । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रील जन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै