Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राप्रपाका अध्यक्ष लोहनी लिङ्देनको पक्षमा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिएका छन् ।

 

आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक भएको बताएका छन् । उनले पार्टीभित्र नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने आफ्नो भनाई र विश्वास रहेको उल्लेख गर्दै राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देनको पक्षमा उभिएको स्पष्ट पारेका छन् । उनले पार्टीका अन्य दुई अध्यक्ष कमल थापा र पशुपति शमशेर राणालाई पनि अभिभावकीय भूमिका निर्वाह गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन आग्रह गरेका छन् । 

 

‘पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनु पार्टी र देशको हितमा आवश्यक छ भन्ने दृष्टिकोण स्पष्ट रुपमा सार्वजनिक रुपमा व्यक्त गरेको थिए । सोही धारणा अनुरुप राप्रपाको नयाँ नेतृत्वमा राप्रपाका पूर्व महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनको पक्षमा उभिएको छु । राप्रपामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाई र विश्वास हो । म अन्य दुई मेरा मित्र अध्यक्षहरु लाई पनि पार्टीको हितमा अभिभावकिय भुमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु’ उनले भने ।

 

सोही कार्यक्रममा बोल्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका अर्का अध्यक्ष कमल थापालाई समयको पद्चाप बुझेर एकपटक विश्राम लिन आग्रह गरेका छन् । उनले आफू पार्टी अध्यक्ष बन्दा कसैले अपमानित महशुस गर्नु नपर्ने पनि बताएका छन् । उनले पार्टी भित्रका मात्रै नभई पार्टी बाहिरका शुभेच्छुकहरु पनि नयाँ नेतृत्वको पक्षमा रहेको दाबी गरेका छन् । 

 

‘श्रद्धेय कमल थापा, उहाँलाई पनि आग्रह गर्न चाहान्छु, समयको पदचापलाई बुझ्नुहोस् । कार्यकर्ताको आवाजलाई बुझ्नुहोस् । राप्रपाभित्रका यी दुई, चार हजार प्रतिनिधि मात्र होइन, देश बाहिरका, राप्रपा बाहिरका लाखौँलाख राप्रपाका शुभेच्छुकहरु के भनिराखेका छन्, के चाहिराखेका छन्, कार्यकर्ताको त आवाज छदैछ, एकचोटी विश्राम गर्नुस् । एकचोटी स्टेपडाउन गर्नुस् । तपाईं राप्रपा छोडेर भाग्नोस् भन्ने होइन । तपाईं राजनीतिबाट भाग्नोस् भन्ने होइन, म बन्नुमा तपाईंको पनि लगानी छ । तपाईंको पनि मेहनत छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दाखेरी कसैले अपमानित महशुस गर्नुपर्दैन’ उनले भने ।

 

उनले पार्टी भित्रको मात्रै नभई देशकै अपरिहार्य आवश्यकताले आफूले पार्टीको नेतृत्व लिन चाहेको बताएका छन् । उनले देश र धर्म बचाउनका लागि राप्रपा बलियो बनाउनुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै