
नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यबद्ध भई निन्दा गर्नुपर्ने बताएको छ । सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो ।
सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गर्नुपर्ने बताएका हुन् ।
प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उनको भनाइ छ ।
गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहमुत प्राप्त गरेको भए पनि चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो । यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।
प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्धारा हल गर्न सकिने विषय भएको बताए । सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताऐ । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उनको भनाइ छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit